अष्ट्रेलियन बैज्ञानिकको दावीः कोरोना भाइरस मार्न सकिने औषधी बन्याे

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ३२


काठमाडाैं । अमेरिकाका बैज्ञानिकहरुले कोरोनाविरुद्ध मुसामा गरिएको भ्याक्सिन सफल भएको दावी गरेपनि अहिलेसम्म मानिसमा भने प्रयोग गरेको समाचार आएका छैनन् ।

तर, अस्ट्रेलियाकी एक वैज्ञानिकले कोरोनाको औषधीको आविष्कार गरेको दावी गरेकी छन् । उनले अनुसन्धानपछि टाउकोमा पर्ने जुम्रा मार्न प्रयोग गरिने औषधीमा प्रयोग हुने रसायनबाट कोरोनाभाइरस मार्न सकिने बताएकी हुन् ।

अस्ट्रेलियाको मोनाश विश्वविद्यालयको बायोमेडिसिन डिस्कभरी इन्स्टिच्युटकी वैज्ञानिक डा काइली वागस्टफले जुम्रा मार्न प्रयोग हुने औषधीको रसायनबाट बन्ने औषधीले केवल ४८ घण्टामै कोरोनाभाइरस मार्न सकिने बताएकी हुन् ।

उनको यो खोजलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । डा. वागस्टफका अनुसार जुम्रा मार्न प्रयोग हुने यो औषधीमा इभरमेक्टिन नामको रसायन प्रयोग हुन्छ । अनुसन्धानपछि प्राप्त नतिजाको आधारमा उनले यो औषधीको एक डोजले नै कोरोनाभाइरसलाई मार्न सकिने दावी गरेकी छिन् ।

औषधी दिएको २४ घण्टाभित्रै बिरामीको शरीरमा भाइरस मर्ने क्रम सुरु हुने भन्दै उनले भनिन्–‘अहिलेसम्म यो महामारीको कुनै ठोस उपचार छैन । जबसम्म कोरोनाभाइरस रोक्ने भ्याक्सिन बन्दैन तबसम्म यो औषधीलाई प्रयोग गर्न सकिन्छ ।’

यो अनुसन्धानलाई त्यहाँको एन्टिभाइरल पत्रिकामा पनि प्रकाशित गरेको छ भने ड्रग तार्गेट रिभ्यु मा पनि प्रकाशित छ । डा. वागस्टफका अनुसार एन्टि प्यारासाइटिक औषधी परजीविबाट हुने रोगलाई समाप्त गर्न सक्छन् । उनले यो परजीवि प्रतिरोधी औषधीको प्रयोग यसअघि एचआइभी, डेंगु, इन्फ्लुएन्जा र जीका भाइरसको उपचारमा पनि प्रभावकारी रुपमा गरिएको दावी गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्