दाङको लकडाउन डायरी : एक्लाएक्लै बसेर के हुँदैछ घरभित्र ?

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ३२


यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ । हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित ।


सधैंजस्तो बिहान ५ बजे नै मेरो निद्रा खुलिहाल्छ । उठेर करिब १ घण्टा जति नियमित मर्निङवाक जान्छु । मर्निङवाकबाट आइसकेपछि जिल्लामा कोरोनाको जोखिम नियन्त्रणका लागि भइरहेका गतिविधिबारे सबैसँग फोनमा बुझ्ने प्रयास गर्छु । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको बेला हाम्रो देशमा पनि हुनसक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न र आफ्नै क्षेत्रका जनतासँग सुख दुःखमा साक्षात्कार गर्न म लकडाउन घोषणा हुनु अगावै आफ्नो गृहजिल्ला आइपुगेको हुँ । अहिले दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी पनि ममाथि छ । त्यसैले दैनिकजसो त्यहाँ गएर अस्पतालको व्यवस्थापन तथा सञ्चालनका लागि भइरहेका गतिविधि बुझेर अपुग कुरा पुराउन सम्बन्धित निकायसँग समन्वय कायम गर्छु । यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा हुने गतिविधि, आवश्यक स्थानमा स्वास्थ्य सामाग्री वितरण, कोरोना अस्पतालको जनशक्ति व्यवस्थापन, अस्पतालको उपकरण व्यवस्थापन तथा लकडाउनका कारण अलपत्र परेका नागरिकहरुको उद्दार गरी सुरक्षित साथ गन्तव्यमा पुराउनु, कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्न सिङ्गो पार्टीलाई तयार पार्नु आदिइत्यादि काममा समय बिताइरहेको छु । खासमा दाङमा अहिले छिमेकी मुलुकबाट आउने नागरिकहरुको कोरोना परीक्षण तथा क्वारेन्टाइनमा राख्नका लागि अनुरोध मुख्य चुनौती बनेको छ । यसको पहिचानका लागि मेरो दैनिक समय बित्ने गरेको छ । यो संकटमा आफू पनि सुरक्षित हुनुपर्ने चुनौती छ । तर सामाजिक जिम्मेवारी पनि भएका कारण बाहिर हिंड्नै पर्ने आवश्यकता पनि छ । यही कुरालाई मध्यनजर गरेर आफ्ना दैनिक गतिविधि सञ्चालन गर्दै आएको छु ।

जीवन गौतम
केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


म घोराही उपमहानगरपालिकाकै कार्यालय परिसरमा बस्छु । कोरोनो संक्रमणलाई फैलन नदिन पूर्वतयारीका कामलाई चलायमान बनाउने, उपमहानगरका जनशक्तिलाई परिचालन गर्ने, जिल्लास्तर, पालिकास्तर, प्रदेश र संघ सरकारसँग आवश्यक समन्वय गरेर नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमै मेरो विशेष ध्यान छ । लकडाउन भएका कारण भेटघाटलाई रोकी फोन, इमेल र भिडियो कुराकानीबाट समस्याहरु सुल्झाउने र काममा सहजीकरण गर्ने गरेको छु । म नगर परिसरमै छु । जनस्वास्थ्य प्रबद्र्धन शाखा पनि कार्यालय परिसरमा भएका कारण स्वास्थ्यका कर्मचारीहरुले गरेका कामको विवरण लिने, १९ वटा वडाहरुले गरिरहेका सचेतना, समन्वय र राहत वितरणको कामको जानकारी लिने र सरसल्लाह दिने काममा छु । ड्युटीमा खट्ने स्वास्थ्य, सरसफाईका कर्मचारी, नगर प्रहरीको कामलाई व्यवस्थित बनाउने, हौसला बढाउने, कार्यालयले गर्नुपर्ने काममा प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न शाखा प्रमुखहरुसँग निरन्तर समन्वय र निर्देशन दिने काममा छु । विभिन्न वडाहरुबाट आउने गुनासालाई सम्बोधन गर्ने, वडाअध्यक्षहरुलाई काममा सहजीकरण गर्ने, सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने गरेको छु । अहिले पछिल्लो समय छाक बसेका विपन्न परिवारलाई राहत वितरणको कामलाई एकद्धार प्रणालीबाट कार्यान्वयनमा ल्याउन समन्वय र निर्देशनको काममा पनि त्यत्तिकै ध्यान दिएको छ । विभिन्न संस्थाहरुले ल्याउने राहतलाई बुझ्ने र वितरणमा पारदर्शिता ल्याउन अपिल गर्ने काम भएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुले नगरको काम बुझ्ने गरिरहनुभएको छ । उहाँहरुसँग पनि सम्वादमै छु । कुनै पनि ठाउँबाट गुनासो नआओस र नगरले गरेको काममा कसैले पनि औंला उठाउन नपाओस भनेर होशियारीका साथ कानुनलाई टेकेर काम गर्ने र गराउनेमा छु । र म पनि आफै पनि निकै सजग छु । मास्क र पञ्जा लगाएको छु । गोजीमा सेनीटाइजर राखेको छु । तातो पानी पिएर बसेको छु । यति बेला रोगसँगको लडाईमा रहेका छौ । स्वास्थ्यको विशेष ध्यान दिँदै खानपिन र आनीबानीमा निकै राम्रोसँग ध्यान दिनुपर्छ भन्ने सन्देश सबैलाई दिँदै कार्यालय र निवासकै परिसरमा छु ।

नरुलाल चौधरी
प्रमुख
घोराही उपमहानगरपालिका


पछिल्लो समय विश्वको मेडिकल साइन्स क्षेत्रलाई नै चकित पार्नेगरी आएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै आक्रान्त पारेको छ । विश्वको अर्थतन्त्रलाई नै धरासायी पार्नेगरी देखिएको यो रोगका कारण नेपालमा पनि लकडाउन गरेयता म पनि घरमै बसिरहेको छु । लकडाउनपछि मेरो पनि दैनिकीमा परिवर्तन आएको छ । बिहानको नित्यकर्मपछि नियमित घरभित्रै व्यायाम गर्ने गरेको छु । त्यसपछि चिया खाजा खाएर विभिन्न पुस्तकहरु अध्ययन गर्ने गर्दछु । यसबीचमा मैले भेटघाट गर्ने क्रमलाई रोकेको छु । विभिन्न स्थानबाट नेता कार्यकर्ताहरुले नियमित फोन आउने गर्दछ । जिल्लाका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि फोनबाटै सकेसम्म कामकाज गर्ने गरेको छु । बाँकी समय त परिवारसँगै बितेको छ । 

शंकर डाँगी 
सचिव 
नेपाली कांग्रेस, दाङ


सधैंजस्तो म बिहान ५ बजे नै उठ्ने गर्दछु । लकडाउनको कारण मर्निङवाकमा जान नपाए पनि घरमै नियमित व्यायाम गर्दछु । आफैले चिया खाजा बनाएर खान्छु । पछिल्लो समयमा विश्वलाई नै आक्रान्त पार्नेगरी कोरोना भाइरसको महामारी छ । यसले नेपाललाई पनि छोइसकेको छ । म जिल्लाको स्वास्थ्य क्षेत्रको प्रमुख हुनुको नाताले आफ्नो जिल्लामा यसबाट जोखिममुक्त कसरी गराउने भन्ने प्रमुख चुनौती छ । यसका लागि प्रदेश सरकारले तयार गरेको कोरोना विशेष अस्पतालको नियमित अवलोकन मेरो प्रमुख कार्य हो । यसका लागि प्रमुख जिल्ला अधिकारीज्यूसँग नियमित संवाद चलिरहन्छ । त्यसैगरी जिल्लाका १० वटै स्थानीय तहका प्रमुखहरुसँग नेपालभन्दा बाहिरबाट आएका नागरिकहरुको पहिचान गरी क्वारेन्टाइनसम्म पुराउन पहल गरिदिन आवश्यकताअनुसार नियमित छलफल गर्ने गर्दछु । त्यस्तै जिल्लाका विभिन्न अस्पताल प्रमुखहरुसँग अस्पतालको बारेमा र आफ्नो अस्पताल आसपासका क्षेत्रका बिरामीको बारेमा दैनिक छलफल हुने गर्दछ । अन्य सरकारीदेखि सबै क्षेत्रमा लकडाउनका कारण बिदा भएपनि स्वास्थ्य क्षेत्र भएकाले म नियमित काममा खटिने गरेको छु । अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कँदैन । समग्रमा आमनागरिकहरुको सेवामै मेरो समय बितिरहेको छ ।

सुनिता पौडेल 
प्रमुख 
जिल्ला स्वास्थ्य कार्यालय, दाङ


विश्व अर्थतन्त्रमा परिरहेको प्रभावलाई गहिरोसँग केलाउन, समाजको वास्तिक धरातल बुझ्न र ज्ञानको दायरा बढाउन यो समयलाई अधिकतम प्रयोग गरेको छु । बिहान म अनलाइनबाट विश्वलाई नियाल्दै अघिल्लो दिनमा प्राप्त लकडाउनकै कारणले चुलो नबलेकाहरुको तथ्याङ्क केलाउँदै वास्तविक समस्यामा रहेकाहरुको चुलो बाल्नका लागि चाहिने सामग्रीको व्यवस्थापन कार्यमा व्यस्त हुन्छु । दिउँसोको समय म अध्ययनमा हुन्छु । अहिले म यो महामारीले नेपालको शिक्षा क्षेत्रमा पार्ने प्रभाव, यसले संस्थागत विद्यालयलाई पुराउने असर तथा विश्व अर्थतन्त्रसँगै मुलुकको अर्थतन्त्रमा यो महामारीले ल्याउने प्रभावलाई केलाउँदै छु । साँझको समयमा छोरीहरुले दिनभरि गरेका कार्यहरु हेर्ने, उनीहरुसँग खेल्ने, कहिलेकाहीँ उनीहरुसँगै भान्सामा बसेर पकाउने लगायतका कार्यहरु गर्दै यो समय बिताइरहेको छु ।

यादव गिरी
केन्द्रीय सदस्य
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)


गत माघ फागुनदेखि नेपालमा कोरोनाको सामान्य चर्चा हुन थाल्यो । कोरोना भाइरस अंग्रेजी महिनाको डिसेम्बर अन्तिमदेखि नै चीनबाट शुरु भइसकेको थियो । जब दिन बित्दै गए, यसको महामारी विश्वब्यापीरुपमा फैलिँदै गयो । नेपालमा तीव्रगतिमा नफैलिए पनि नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताएअनुसार त्यसैको सेरोफेरोमा चैत्र ११ गतेदेखि नेपालमा पनि लकडाउन गरियो । कोरोना संक्रमित विभिन्न राष्ट्रजस्तै नेपाल पनि पूरै देश लकडाउनमा भएपछि अरुको जस्तै मेरो पनि नियमित काममा ब्रेक लाग्यो । त्यसैले नियमित कामभन्दा फरक तरिकाले दिनहरु बिताउनुपर्ने भयो । यसैअनुसार अरु बेलाझै फरक तरिकाले दिन बिताउन खोज्दा अलि असहज त हुने नै भयो । शुरुका २÷३ दिन त दिनैभरि घरमा बस्दा एक प्रकारको छटपटीमै दिन बित्यो । बिहान उठ्यो १ घण्टा घरको छतमा सामान्य शारीरिक ब्यायाम गर्यो । नुहाइधुआई गर्यो, खाना खायो, टिभी हेर्यो, सानो छोरासँग खेल्यो, परिवारसँग गफगाफ गर्यो, दिउँसोको खाजा खायो अनि सामाजिक सञ्जालमा फोटो स्टाटस राख्यो । यति गर्दासम्म साँझ पर्छ । त्यसपछि सबै टिभी च्यानलहरु घुमायो, समाचार हेर्यो, सुत्यो । यसरी दिन बिते शुरुशुरुमा । शुरुवाती दिनहरु निकै उदेकलाग्दो भएपछि दैनिकीलाई थोरै परिवर्तन गर्ने सोच बनाउनेतर्फ लागें । पुस्तकहरु खोजेर पढ्ने । पढ्ने बानी सारै बिग्रिएछ । तर पनि योजनाअनुसार पुस्तक पढ्नतिर दिल, दिमाग लगाए । यो बीचमा अमर न्यौपानेको सेतो धरती, अच्यूत कोइरालाको नरेन्द्र मोदी राजनीतिका आधुनिक चाणक्य, नारायण सुवेदीको १०० दिन माओवादी कब्जामा, हेमन्तप्रकाश ओली ‘सुदर्शन’को प्रचण्डपथ एक्काइसौ शताब्दीको विचारधारात्मक छलाङ, लाक्पा फुटी शेर्पाको हिमालकी छोरी नामक पुस्तकहरु पढें । शुरुका दिनहरूभन्दा आजभोलि समय बिताउन अलि सहज भएको छ । शायद दिनभरि घरमै बस्ने बानी र पुस्तकहरु पढ्ने कोसिस गरेर होला अब आगामी दिनहरु पनि यही बानीलाई निरन्तरता दिँदै शारीरिक ब्यायाम, सामाजिक सन्जालको प्रयोग, अन्य पुस्तकहरुको अध्ययन, परिवारसँग गफगाफ, सरोकारवाला निकायहरुलाई फोनमार्फत जानकारी पछि अफिसमा रिपोर्ट र टिभी तथा अनलाइन समाचारहरुको अपडेट गर्दै बिताउने सोच बनाएको छु ।

विनोद केसी 
अधिकारकर्मी


हाल विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुत रहन सकेन । यसको सङ्क्रमणको खतरालाइ मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको आज १६ औं  दिन बितेको छ ।  यो अवधिभर पहिलो हप्ता घरमै परिवारहरुसँग बसेर विभिन्न सञ्चारमाध्यमका समाचारहरु पढेर बिते । अर्को हप्ताको अवधिमा जो घोराही उपमहानगरपालिकाको वडा नं. १४ र १५ जो बजार क्षेत्रलाई चैत्र १८ गतेदेखि २४ सै घण्टा लकडाउनमा राखेर भीडभाड कम गर्ने निर्णय गर्यो । त्यसपछि म आवद्ध संस्था दाङ जिल्ला उघोग बाणिज्य संघसँगको सहकार्यमा अत्यावश्यक खाद्यान्न घरघरमा डेलिभरीको व्यवस्था गर्ने निर्णय गरेसङ्गै म पनि दाङ जिल्ला उघोग बाणिज्य संघको कार्यसमिति सदस्यको हैसियतले आजभोलि त्यसमै चाँजोपाँजो मिलाउनमा ब्यस्त छु । खाली समय घरमै परिवारहरुसँग बसेर बितेको छ ।

महेन्द्र बुढाथोकी 
युवा व्यवसायी


म शिक्षण पेशामा लागेको ब्यक्ति सँधै जस्तो विभिन्न क्याम्पसहरुमा पढाउनकै लागि दौडधुप हुने गर्दथ्यो । जसका कारण नियमितरुपमा शारीरिक व्यायाम गर्न समय मिल्दैनथ्यो । अहिले बिहान उठेर करिब दुई घण्टा शारीरिक ब्यायाम तथा योगा गर्ने गर्दछु । कहिलेकाहीँ हिन्दी, अंग्रेजी तथा नेपाली चलचित्र हेर्ने गरेको छु । कहिलेकाहीँ विशेष गरेर गणित विषयसँग सम्बन्धित चलचित्र तथा डकुमेन्ट्री हेरेर बिभिन्न लेख तथा किताबहरु पढेर र अहिले विश्वमा महामारी फैलाइरहेको कोरोनासँग सम्बन्धित विभिन्न समाचार हेरेर, सुनेर र पढेर समय बिताइरहेको छु । कहिलेकाहीँ फुर्सदको समयमा भान्साको काममा सघाउने र खाना तथा खाजा आफै  बनाउने पनि गरेको छु । यसरी नै बितेको छ मेरो लकडाउनको समय ।

लोकबहादुर बिसी
प्राध्यापक
 


प्रतिक्रिया दिनुहोस्