कहाँ पुग्न हतार हुन्थ्यो कुन्नि ?
कोही यता कुदिरहन्थ्यो
कोही उता दौडिरहन्थ्यो
पैदलै सडक नापिरहन्थे कोही
भौंतारिँदै यता र उता डुलिरहन्थे कोही
संसार जित्न हिँडेका योद्धाजस्ता
झ्याप्प सडक बत्ती लाल हुँदा
क्षणभरमै मानवजङ्गल बनिसक्थ्यो
शहरको सडक र शहर ।
हतारोमा अलिकति
चटारो मिसाएर
अजम्मरी चोलाको झोला बोकी
मसानघाट पुगेर मात्रै
मूर्दाहरुको चितामा
अनि कात्रोमा ‘गोजी’ नदेख्दा
जिन्दगीको अर्थबोध गरेर फर्किने
मानवहरुको जङ्गल थियो
शहरको सडक र शहर ।
प्रकृतिको रहस्यमाथि
गाडेर विजयको झण्डा
ठोकेर विश्व विजेताको फुली
विश्व विधाताको गुथेर पगरी
उन्मत्त साँढेझैं
ढलीमली खेल्नेहरुलाई
‘हैसियत’ देखाइदिन काफी भयो
नाथे कोरोना !
र, त आज
स्तव्ध विश्व, किंकर्तव्यविमूढ विश्व
अनि
उराठलाग्दो बनेको छ
मान्छे हराएको सडक
मान्छे हराएको शहर
रहस्यहरुलाई खोतल्दै प्रकृतिको
एक्लाएक्लै बसेर मान्छे
सोंचमग्न छ
ध्यानमग्न छ
गम्दै ज्ञानविज्ञानका सूत्र
खाली बनाएर पूरै संसार
ठप्प बनाएर विश्व
झुक्याउँदै, अल्मलाउँदै कोरोना भाइरस
मान्छे अझै सोंचिरहेछ जुक्ति
फेरि कसरी पस्न सकिन्छ ?
मान्छे हराएको शहर !