लकडाउनमा दाङका सामुदायिक वनमा ५५ वटा रुख काटिए, २ जना पक्राउ

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ४४


शिवु खनाल 
दाङ । लकडाउनको मौका छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन् । काटिएको करिव १ हजार क्युफिट सिसौको काठसहित २ जना पक्राउ परेका छन् ।

सहायक वन अधिकृत खिमबहादुर केसीको नेतृत्वमा गएको डिभिजन वन कार्यालय दाङको नियमित गस्तीले सिमठाना सामुदायिक वन क्षेत्रमा अवैद्यरुपमा काटिएका ५५ थान रुखहरुसहित घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको हो । 

घटनास्थलको प्रकृति हेर्दा घटनामा जसको संलग्नता भएता पनि वनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोगको जिम्मा पाएको समूहका कार्य समितिका पदाधिकारीरुको लापरवाही देखिएको सहायक वन अधिकृत केसीले जानकारी दिनुभयो । कटान क्षेत्रमा रहेका काठ दाउरा बरामद गरिए पनि लकडाउनका कारण ढुवानी गर्न असहज भएकोले सम्बन्धित समूहका जिम्मेवार पदाधिकारीहरुको जिम्मामा बुझाइएको दंगीशरण सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो । 

लकडाउन अवधिभर टुर गस्ती जारी
लकडाउनको बेला हुनसक्ने सम्भावित चोरी तस्करीलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय दाङले लकडाउन अवधिभर टुर गस्ती सञ्चालन गरिरहेको छ । गस्ती सञ्चालन गर्नुपर्ने जोखिमयुक्त स्थानहरुको समेत पहिचान गरी गस्ती कार्य चलिरहेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

लकडाउनको समयमा मानिसहरु घरभित्रै रहने भएकोले उक्त समयको फाइदा उठाई वन जंगलमा हानी नोक्सानी हुनेगरी चोरी निकासी, चोरी शिकारी जस्ता अपराध बढ्नसक्ने भएकोले चोरी तस्करीको नियन्त्रण गर्न गस्ती परिचालन प्रभावकारी बनाइएको छ । घटनामा संलग्नहरुको पहिचान गरी कानूनबमोजिम कार्वाही गरिने र यस्ता विभिन्न जोखिमयुक्त क्षेत्रहरु केन्द्रित गस्ती परिचालन भइरहेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । 


 


प्रतिक्रिया दिनुहोस्