युवाहरु बाँच्नुपर्छ भन्दै जसले भेन्टिलेटर दिएर आफ्नो प्राण त्यागे

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : १३


विश्वभर कोरोनाभाइरसको महामारीले अस्तव्यस्त बनाइरहँदा अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरुको अभाव बढ्दै गइरहेको छ। विकसित मुलुकहरु नै अहिले भेन्टिलेटर, आइसियू जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभाव झेलिरहेका छन्।

पछिल्ला दिनहरुमा विश्व महाशक्ति राष्ट्र अमेरिका नै कोरोनाभाइरसको केन्द्रविन्दू बन्न पुगेको छ भने इटाली, स्पेन र युरोपेली मुलुकहरु ठूलो संकटबाट गुज्रिरहेका छन्। 

गएको साता मात्रै चीनले एक हजार थान भेन्टिलेटर अमेरिकाको न्यूयोर्क राज्यलाई पठाएको समाचार पनि आएको थियो। यो प्रसंग यहाँ उल्लेख गर्नुको अर्थ अमेरिकाजस्तो सर्वशक्तिमान् राष्ट्रलाई समेत भेन्टिलेटर बाहिरबाट सहयोग लिनुपर्ने स्थिति आएको छ।

कोरोनाभाइरस संक्रमणले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने भएका कारण गम्भीर अवस्थामा पुगेका संक्रमित बिरामीलाई भेन्टिलेटर अत्यावश्यक उपकरण हो। त्यसैले पनि अहिले विश्वभर भेन्टिलेटरको अभाव बढेको छ। 

यहीँ सन्दर्भमा उपचारका दौरान केही व्यक्तिहरुले यत्रो ठूलो त्यागको नमूना देखाएका छन् कि आफूले सम्पूर्ण जीवन भोगिसकेको र भेन्टिलेटर युवा बिरामीहरुलाई दिन भन्दै प्राण त्याग गरेका छन्। यस्तो उच्चतम मानवीयता र प्राण त्यागसम्म गर्ने घटनाले विश्वजगतमा तहल्का मच्चाइदिएको छ। जसले गर्दा कोरोनाभाइरस विरुद्धको लडाइँमा अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई हौसला एवं मनोबल बढाइदिएको छ।

यहीँ उदाहरणका रुपमा दुई जना वृद्ध संक्रमित व्यक्तिहरुले आफूलाई दिइएको भेन्टिलेटर युवा बिरामीहरुलाई दिई अरुको ज्यान बचाई आफ्नो प्राण त्याग गरेका छन्। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार बेल्जियमको एक अस्पतालमा ९० वर्षीया महिला सुज्यान होलियार्टसले भेन्टिलेटर अस्वीकार गर्दै ज्यान आफ्नो गुमाएकी छिन्। उनले डाक्टरलाई ‘मैले सुन्दर जीवन बिताइसकेँ, यो भेन्टिलेटर कुनै जवानका लागि प्रयोग गर्नुहोला’ भन्दै भेन्टिलेटर लगाउन अस्वीकार गरेको डेली मेलले समाचारमा उल्लेख गरेको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको थियो। होलियार्टसकी छोरी जुडिथले एक डच समाचारपत्रलाई आफूले अन्तिम पटक भेट्न एवं अन्त्येष्टिमा जानसमेत नपाएको बताएकी छिन्।

त्यस्तै मार्च १५ मा डन ज्युसेप्पे बरारडेल्ली नाम गरेका एक इटालीयन वृद्धले आफ्नो भेन्टिलेटर एक बालकलाई दिएर आफूले ज्यान गुमाएका थिए। उनले पनि भेन्टिलेटरको आवश्यकता आफूलाई भन्दा बालक एवं जवानलाई रहेको भन्दै अपरिचित बालकलाई आफ्नो भेन्टिलेटर दिएका थिए। बालकका लागि आफूले प्रयोग गर्दै आएको भेन्टिलेटर दिएको तेस्रो दिन उनको पनि निधन भएको थियो।

कोरोना भाइरसको बढ्दो प्रकोप र भेन्टिलेटरको अभाव भएको थाहा पाएर उनीहरूले त्यागको भावना देखाएको हुनसक्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्