को हुन् कोरोनाका कारण विदेशी भूमिमा ज्यान गुमाउने नेपाली ?

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : १६


काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को महामारीबाट विश्वमा ८२ हजार बढी मानिसहरुको ज्यान गइसकेको छ भने १४ लाख बढी संक्रमित भइसकेका छन्। पहिलोपटक चीनको वुहानमा डिसेम्बर ३० मा कोरोनाभाइरसको संक्रमण देखिए यताका ४ महिनामै यो विश्वका २०९ देशमा फैलिइसकेको छ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म कसैको ज्यान गएको छैन। ९ जनामा संक्रमण देखा परेकोमा १ जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा कसैको मृत्यु नभए पनि विदेशमा रहेका नेपालीहरु भने यो भाइरसबाट प्रभावित बनेका छन्। वैदेशिक रोजगारी, अध्ययन वा आवासीय रुपमा विदेशमा रहेका केही नेपालीहरुको यहीँ भाइरसका कारण मृत्युसमेत भइसकेको छ भने थुप्रै संक्रमणको मारमा परिसकेका छन्।

हामी यहाँ कोरोनाभाइरसका कारण विदेशमा ज्यान गुमाएका नेपालीहरुका बारेमा चर्चा गर्दैछौं। को को हुन् त विदेशमा ज्यान गुमाउने नेपालीहरु?

संखुवासभाका लीला र चितवनका प्रशान्तको बेलायतमा निधन

कोरोनाभाइरसको संक्रमणबाट बेलायतमा रहेका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको निधन भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका(१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आउनुभएका ६६ वर्षीय लीलाबहादुर राईको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा घर बनाउनुभएका उहाँ सन् २००८ मा बेलायत जानुभएको थियो। आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म सेवा गर्नुभएको थियो।

श्रीमती र छोराबुहारीसँग बेलायतमा बस्दै आउनुभएका राईको २० वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यस्तै लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्यालको पनि कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।

उपचारको क्रममा अर्यालको लण्डनको क्वीन एलिजावेथ अस्पतालमा मृत्यु भएको थियो। मृत्यु भएको ४ दिनपछि मात्रै उनलाई कोरोना संक्रमणको पुष्टि भएको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य रामशरण सिँखडाले बताउनुभयो। 

बेलायतस्थित नेपाली दूतावासले कोरोना संक्रमणबाट बेलायतमा दुई जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

अमेरिकामा मृत्यु भएका यी हुन् पाँच नेपाली

कोरोनाभाइरसका कारण अमेरिकामा पहिलोपटक न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो।

पाँचथर कुम्मयाक गाँउपालिका-९ का ५० वर्षीय अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्दै आउनुभएको थियो। उहाँका दुई छोरा र एक छोरी छन्। अनिल मधुमेहका रोगीसमेत रहेको उहाँका दाजु खगेन्द्रले बताउनुभएको थियो।

मृतक लिम्बूले २०१५ देखि २०१७ सम्म एनआरएनए न्युयोर्क च्याप्टर बोर्ड आफ डाइरेक्टरको भूमिका निर्वाह गर्नुभएको थियो। 

त्यस्तै, सोलुखुम्बु घर भएका ४४ वर्षीय निमा टेम्बा शेर्पाको बुधबार (आज) बिहान स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका दाजु लाक्पा युंला शेर्पाले पुष्टि गर्नुभएको छ।

न्यूयोर्कको ज्याशन हाइट क्षेत्रमा बस्ने शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्। 

त्यसैगरी केही दिनअघि नेपालको मुस्ताङ घर भई न्यूयोर्कमै बसोबास गरिरहनुभएका ४० वर्षीय सोनाम लामा र ४८ वर्षीय थोक्मे बिष्टको एकै दिन आफ्नै अपार्टमेन्टमा मृत्यु भएको थियो। 

न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बस्दै आउनुभएका दुवै घरभित्रै मृत अवस्थामा भेटिएको नुप्रि एसोसिएसनका पूर्वअध्यक्ष मिङ्मार लामाले बताउनुभयो। 

लामा न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्नुहुन्थ्यो भने थोक्मे विष्ट क्विन्स सन्नी साइड बस्नुहुन्थ्यो। विष्ट १२ वर्षदेखि अमेरिकामा बस्दै आएको बताइएको छ।

केही दिनदेखि बिरामी रहेका सोनामको लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा मृत भेटिएको बताइएको छ। १८ बर्षदेखि अमेरिकामा बस्दै आउनुभएका सोनाम र १२ वर्षदेखि अमेरिकामा रहनुभएका थोक्मे दुवैका परिवार भने नेपालमा रहेको बताइएको छ। 

त्यस्तै, न्यूयोर्क निवासी अजयमान छोंचुँको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ। नेवानख न्यूयोर्कका अनुसार अस्पतालले हृदयघातका कारण उपचारत छोंचुँको शनिबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो। ब्याक्टेरियल निमोनिया देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। छोंचुँ श्रीमती र परिवार सहित यूयोर्कको क्विन्सस्थित ग्रयाण्ड एभिन्यूमा बस्दै आउनुभएको थियो।

कोरोनाबाट युएईमा एक नेपाली महिलाको मृत्युु

संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने महिला रुपन्देही देबदह– ६ की ४० वर्षीया बिनु पराजुली हुनुहुन्छ।

काम गर्ने घरमै अचेत अवस्थामा फेला परेकी पराजुलीलाई अस्पताल लगिएको थियो। अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। 

९ वर्षदेखि दुबईमा कार्यरत बिनु मृत्यु हुनु केही दिनअघि अस्पतालमा जाँचका लागि गएको र केही औषधि लिएर काम गर्ने घरमै फर्केर आराम गरिरहेको बताइएको छ।

पछिल्लो समयमा उहाँ काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आउनुभएको थियो। उहाँका श्रीमान डोलराज पराजुली पनि एक महिनादेखि भिजिट भिसामा युएईमा हुनुहुन्थ्यो। 

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले पराजुलीको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो। 


प्रतिक्रिया दिनुहोस्