धनगढीमा एकैदिन सयौंको स्वाब परीक्षण गर्न सकिने आरटी पिसिआर मेसिन जडान

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १२ : १३


काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) को परीक्षण प्रदेशहरुमा गर्न आवश्यक स्वास्थ्य सामग्री पठाउने विषयमा तीन मन्त्रीसँग बुधबार छलफल गरेको छ ।
 
मन्त्रालयले खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र भूमि ब्यवस्था मन्त्री पद्मा अर्यालसँग छलफल गरेको हो । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई सुदूरपश्चिम प्रदेश सरकार, भौतिक मन्त्री नेम्बाङलाई प्रदेश १ सरकार र भूमि व्यवस्था मन्त्री अर्याललाई गण्डकी प्रदेश सरकारसँग समन्वय गर्न जिम्मेवारी दिएको थियो । 

सोही अनुसार तीनै जना मन्त्रीहरूले बुधबार स्वास्थ्य मन्त्रीसँग छलफल गर्नुभएको हो । तीनैजना मन्त्रीहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेट गरी आवश्यक स्वास्थ्य सामग्रीहरु पठाउने तयारीका विषयमा छलफल गर्नुभएको थियो । कोरोना भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै मन्त्री ढकालले सुदूरपश्चिमलाई बढी प्राथमिकता दिएर स्वास्थ्य सामग्रीहरु छिट्टै पठाइने बताउनुभयो । 

यसैबीच सुदूरपश्चिम प्रदेशमा एकै दिन सयौं व्यक्तिहरुको स्वाब जाँच गर्न सकिने गरी मेसिन जडान गरिने भएको छ । धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा कोरोना संक्रमितको स्वाब जाँच गर्न सकिने गरी मेसिन जडान गर्न लागिएको छ । स्वास्थ्य मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट आरटी पिसिआर स्वाब परीक्षण गर्ने मेसिन लगिएको हो । त्यसैगरी केन्द्र सरकारबाट सुदूरपश्चिम सरकारलाई सहायता स्वरुप र्यापिड टेस्ट कीट समेत पठाइएको छ । सुदूरपश्चिम सरकारको आग्रहबमोजिम केन्द्र सरकारले यस्तो कीट पठाएको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहनु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस्