एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण रोकथापका लागि घोषणा गरिएको लकडाउनको अवधि बढ्नसक्ने संकेत देखिएको छ । भारतले यसअघि नै २१ दिने लकडाउनको घोषणा गरेको थियो ।
लकडाउनको विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई लकडाउनको अवधि बढ्ने संकेत दिएका हुन् । प्रधानमन्त्री मोदीले भनेका थिए, कोरोना भाइरसका विरुद्ध लामो लडाई अझै छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार भएको सर्वदलीय बैठकमा कोरोना भाइरसविरुद्ध लामो लडाई बाँकी छ र सबैको जीवनरक्षा गर्नु सरकारको प्राथमिकता हो भन्दै लकडाउन लम्बिने संकेत दिएको बताइएको छ । ’सामाजिक संकटकाल’जस्तै रहेको बताउँदै मोदीले फेरि एकपटक सबै मुख्यमन्त्रीसँग कुरा गर्ने पनि मोदीले बताएका छन् ।
मोदीले बीजेपी, कांग्रेस, डीएमके, एआइएडीएमके, टीआरएस, सीपीआइएम, टीएमसी, शिवसेना, एनसीपी, अकाली दल, एलजेपी, जेडीयू, एसपी, बीएसपी, वाइएसआर कांग्रेस र बीजेडी नेताहरुसँग छलफल गरेका थिए । बैठकमा मोदीले राज्य, जिल्ला प्रशासन र विशेषज्ञहरुले भाइरसको संक्रमण रोक्नका लागि लकडाउनलाई लम्ब्याउनुपर्ने सुझाव दिएको बताउनु भएको थियो ।