मृत्यु भएको ११ दिनपछि बाबुरामका आफन्तले शव बुझे

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : १४


काठमाडौं । बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा ११ दिन पहिले मृत्यु भएका पाल्पा रिब्दीकोट गाउँपालिका– ५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव आज आफन्तले बुझेका छन् । पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जीसी, मानवअधिकारकर्मी गोविन्द खनालको पहलमा आफन्त र परिवारले शव बुझ्न सहमति जनाएका हुन् ।

कोरोना भाइरस संक्रमणको आशंकामा उपचार शुरु गरिए पनि परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनाकै कारण मृत्यु भएको भन्ने त्रास आफन्तमा फैलिएपछि मृत्यु भएको ११ दिनसम्म पनि शव उठ्न सकेको थिएन । अधिकारकर्मी र सरोकारवालाको पहलमा पीडित पक्षकै स्वास्थ्यकर्मीसमेत राखेर गरेको छलफलपछि परिवार र आफन्तले बुधबार शव बुझ्न तयार भएका हुन् ।

पीडितको तर्फबाट डा. माधव थापा, बाबुरामकी पत्नी रीताका दाजु कमल टण्डन, शंकर टण्डन, मृतकको गाउँका वडाध्यक्ष कृष्णबहादुर थापासहितले शव बुझेको रिब्दीकोट समाजका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो । त्यसअघि सरोकारवालाले सामाजिक मन्त्रालयमा पीडित पक्षलाई राखेर परिवारको राहतका लागि छलफल गरेका थिए । मन्त्रालयमा भएको छलफलमा मृतककी पत्नी रीता थापालाई उनी डेरामा बस्दै आएको रूपन्देहीको सैनामैना नगरपालिकाले योग्यताअनुसारको रोजगारी दिने, सामाजिक विकास मन्त्रालयले २ छोरालाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र विभिन्न संघसंस्थामार्फत सहयोग संकलन गरेर मृतककी श्रीमतीको नाममा ८ लाख ४० हजार रुपैयाँको राहत कोष स्थापना गरिदिने सहमति भएको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्