जुम्ला । चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ।
वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित घर दुई वटा घरको चैत महिनाको घरभाडा नलिने जनाएका हुन्। उनी स्थानीय तहको निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका–९ मा वडाध्यक्षका रुपमा विजयी भएका थिए।
“सबै घरपरिवारको सल्लाहअनुसार भाडा छुट दिने निर्णय गरेका हौँ । कोरोना सङ्क्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउनमा छ । नेपाल आर्थिक सङ्कटमा गुज्रिरहेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ । धेरैले भाडा नलिने घोषणा गरिरहनुभएका छन्। त्यही सन्दर्भमा हाम्रो घरपरिवारले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको हो।”
नेपालगञ्ज र जुम्ला गरी दुई घरमा १० जनालाई १० कोठा भाडामा दिइएको छ उहाँललाई मासिक ३१ हजार ५०० घरभाडा आउने गरेको थियो। चैत महिनाको घरभाडासहित पानी बिजुली सबै छुट दिनेछौँ।
त्यसैगरी यसअघि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नो काठमाडौँमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभयो।
काठमाडौँको टोखा नगरपालिका–८ रमणबस्ती स्थायी घर भएका प्रहरी नायब उपरीक्षक धामीले चैत महिनाको घरभाडा नलिने घोषणा जुम्लाबाटै गर्नुभएको हो। आफ्नो घरका छ कोठा भाडामा लगाएको उहाँले बताउनुभयो । “प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्नँ”, उहाँले भन्नुभयो।