सन्दर्भ रक्तिम स्थापना दिवस : रक्तिम यात्राका ती दिनहरू

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : १६


रक्तिम, जसका गीत, सङ्गीत र नाटकले जनता जगाउने र परिवर्तनको महायात्रामा लामबद्ध हुन उर्जा प्रदान गरिरहेछ । रक्तिम, जसले सधैँ गरिब, दुःखी, किसान, मजदुर, भरिया, ज्यामीका आँसु, पसिना र रगतबाट कोरिएका शब्दलाई आफ्नो साङ्गीतिक खजाना बनायो । अन्याय, अत्याचार, दासत्व, शोषण, दमन र असमानताका विरुद्ध जनतालाई जुध्न सिकायो । अँध्यारो औँसीको रातमा पिल्सिरहेका जनतालाई जसका गीत÷सङ्गीतले आशाका किरण देखाइदिए, रक्तिम गीत÷सङ्गीत आज पनि लाखौँलाख श्रमजीवी जनताका हृदयमा अमिट अक्षरले कोरिएका छन् । त्यही रक्तिम अर्थात् रक्तिम साँस्कृतिक अभियान स्थापना भएको दिन हो– चैत्र २६ ।

आजभन्दा ३३ वर्षअगाडि अर्थात् २०४३ चैत्र २६ गतेका दिन रक्तिम साँस्कृतिक अभियानको नामकरण गरिएको थियो काठमाडौँको घण्टाघरमुनि । पञ्चायती कालरात्रिको त्यो समयमा प्रगतिशील साँस्कृतिक आन्दोलनका लागि सङ्गठनको गठन गर्नु निश्चय पनि सहज थिएन । हामी सहजै अनुमान लगाउन सक्छौँ, त्यतिबेलाको परिस्थिति कति कठिन थियो होला ? 

त्यो समयभन्दा एक दशकअघिदेखि नै नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनमा क्रियाशील हुँदै आउनुभएका जनगायक जीवन शर्माले दिनुभएको जानकारीअनुसार २०४३ चैत्र २६ गते विभिन्न जिल्लाबाट काठमाडौँमा अध्ययन गर्न आएका प्रगतिशील साँस्कृतिककर्मीको भेला काठमाडौँको घण्टाघरमुनि सम्पन्न भएको थियो । सोही भेलाले सङ्गठनको नाम रक्तिम साँस्कृतिक अभियान तय गर्दै ९ सदस्यीय समिति गठन गरेको थियो । भेलाले जनगायक जीवन शर्मालाई अध्यक्षमा चयन गरेको थियो भने सदस्यमा झोकेन्द्र थापा, राधा बुढाथोकी, कृष्ण अर्याल, पार्वती भट्टराई र सुजता गुरुङलगायत रहनु भएको थियो । 

रक्तिम परिवारको गठन अखिल नेपाल जनसाँस्कृतिक सङ्घको योजना मुताबिक नै भएको थियो । जीवन शर्मा, राजेश विक र मणि थापा सम्मिलित उक्त सङ्घले एउटा प्रगतिशील साँस्कृतिक सङ्गठन निर्माण गर्ने योजना बनाएको थियो । त्यही योजनामुताबिक जनगायक जीवन शर्माको विशेष पहलकदमी र सक्रियतामा रक्तिम परिवारको गठन भएको थियो । भेलामा सङ्गठनको नाम रक्तिम परिवार राख्ने प्रस्ताव जीवन शर्माले गर्नुभएको थियो । त्यसरी सङ्गठनको नामकरण गरिएपछि नै रक्तिम परिवारको नामबाट देशविदेशमा साँस्कृतिक कार्यक्रम हुन थालेका हुन् ।

पञ्चायती कालरात्रिमा २०४० सालतिर गाउँगाउँमा जनताका गीत गाउँदै हिडेका जनगायक जीवन शर्मासहितको टोली ।

रक्तिम परिवारको गठन वास्तवमा प्रतिक्रियावादीको विरुद्धमा एउटा जुझारु र सशक्त साँस्कृतिक हतियारको निर्माण थियो भन्ने तथ्यलाई त्यसपछिका रक्तिमका गतिविधिले प्रष्ट पारिसकेका छन् । रक्तिम परिवारको गठन निश्चित उद्देश्य र विचारका लागि भएको थियो । चिनियाँ महान् सर्वहारा साँस्कृतिक क्रान्तिको तातो राप त्यतिबेला नेपालमा झनै मौलाउँदै थियो । सर्वहारा साँस्कृतिक क्रान्तिको मूल मर्मलाई आत्मसात गर्दै नेपालमा पनि प्रगतिशील साँस्कृतिक आन्दोलन अघि बढाउने स्पष्ट उद्देश्यका साथ नै रक्तिम परिवारको गठन भएको थियो । 

रक्तिमको गठन कुनै आकस्मिक रूपमा भएको थिएन । नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनमा लामो समयसम्म क्रियाशील साँस्कृतिककर्मीको अनुभव र देशको तत्कालीन राजनीतिमा देखिएको आवश्यकताले नै रक्तिम परिवार जन्माएको थियो । यसको गठनपछाडिको पृष्ठभूमि पनि लामो रहेको छ । रक्तिम गठनको आधार सजिलै सिर्जना भएको थिएन । त्यसका लागि जीवन शर्मा, राजेश विक र मणि थापाहरूले कठिन र लामो साँस्कृतिक यात्रा गर्नुपरेको थियो । रक्तिमको गठनअघि जीवन शर्मा र राजेश विश्वकर्माले बागलुङ र पर्वत जिल्लाका विभिन्न गाउँमा गएर जनतालाई दुःख, वेदना र विद्रोहका गीत सुनाउने गर्नुहुन्थ्यो । दिनभरि किसानका खेतबारीमा किसानसँगै काम गर्ने र साँझ तिनै किसानको घरआँगन, पिँढी र बलेनीमा बसेर तिनै किसानका वेदनाका गीत सुनाउँदा ती दुःखी किसान निकै प्रभावित हुने गर्थे ।

अध्ययनको सिलसिलामा काठमाडौँ आइसकेपछि जीवन शर्माले मणि थापासँग मिलेर काठमाडौँका विभिन्न क्याम्पसमा र उपत्यका आसपासका गाउँमा जनसङ्गीतका कार्यक्रम गर्दै हिँडेको विभिन्न पत्रपत्रिकामा प्रकाशित उहाँहरूका संस्मरणमा भेटिन्छ । रक्तिम परिवारको गठनभन्दा अगाडि पनि नेपालमा प्रगतिशील साँस्कृतिक आन्दोलनलाई अघि बढाउन सङ्गठित रूपमा प्रभावकारी कदम नचालिएका होइनन् । जीवन शर्मा, मणि थापा र राजेश विश्वकर्माहरू त्यही साँस्कृतिक आन्दोलनका उत्पादन थिए । 

२०३६ सालतिर नेपालमा पञ्चायत विरोधी राजनीतिक हुरी चल्यो । त्यो हुरीसँगै प्रगतिशील गीतसङ्गीतको लहर पनि व्यापक भएर गयो । जनमत सङ्ग्रहपश्चात् राजनीतिक आन्दोलन केही शिथिल भएपछि पनि प्रगतिशील साँस्कृतिक आन्दोलन भने झनै व्यापक भएर जान थाल्यो । एकातर्फ, रायन र कोमल धितालजस्ता प्रतिभा, अर्कोतर्फ रामेश र मन्जुलजस्ता साँस्कृतिक योद्धा अलग–अलग समूहमा रहेर प्रगतिशील गीत तथा सङ्गीत बोकी गाउँगाउँमा घुम्न थाले । रायन, रामेश, मन्जुल र कोमल धितालजस्ता प्रगतिशील साँस्कृतिक आन्दोलनका हस्तीले नेतृत्व गरेको त्यो आन्दोलनले वास्तवमा देशमा एक प्रकारको साँस्कृतिक भूकम्प नै ल्याइदियो । त्यही आन्दोलनले नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनमा नयाँ नयाँ हस्तीसमेतलाई अगाडि ल्याइदियो । राजेश विश्वकर्मा, जीवन शर्मा, मणि थापा, जेबी टुहुरे, माधव प्रधान, उदय श्रेष्ठ, खुशीराम पाख्रीन, धनराज सुब्बा र मधु गुरुङ त्यही आन्दोलनपश्चात् नै प्रगतिशील गीतसङ्गीतको क्षेत्रमा राष्ट्रियस्तरमा देखा परेका नयाँ हस्ती थिए । यद्यपि जीवन शर्मा र राजेश विश्कर्माहरूले २०३२ सालदेखि नै बागलुङ र पर्वतका गाउँठाउँमा प्रगतिशील गीतसङ्गीत प्रस्तुत गर्दै हिड्नुभएको थियो । 

त्यतिबेला केन्द्रीयस्तरमा सङ्गठितरूपमा जनसङ्गीतको यात्रालाई अघि बढाइरहेका प्रगतिशील साँस्कृतिक सङ्गठनमा वेदना परिवार र सङ्कल्प परिवार थिए । “गाउँगाउँबाट उठ” बोलको कालजयी गीत, सिम्मा गीतिनाटक त्यतिबेलाकै सिर्जना थिए । वेदना परिवार, सङ्कल्प परिवारका साँस्कृतिक गतिविधिले जनतामा व्यापकरूपमा जागरण त ल्याइदिए तर सङ्गठनको स्वरूपलाई व्यापक बनाउन भने असमर्थ रहे । नेपालको वाम राजनीतिमा समय समयमा देखिने गरेको टुटफुटको असर ती साँस्कृतिक सङ्गठनमा समेत पर्न गयो । खास गरेर कम्युनिस्ट आन्दोलनको मूलधार मानिने चौथो महाधिवेशनको विघटनसँगै केही समय साँस्कृतिक आन्दोलनमा पनि अन्योलको स्थिति सिर्जना भयो । वेदना परिवार एक प्रकारले छिन्नभिन्नजस्तै भयो । वेदना परिवारले जन्माएर हुर्काएका कलाकारसमेत छिन्नभिन्न हुन पुगे । यही पृष्ठभूमिमा इतिहासका ती सबै घटनाक्रमबाट पाठ सिकेर सर्वहारा साँस्कृतिक क्रान्तिको स्प्रिटलाई आत्मसात गर्दै दरिलो प्रगतिशील साँस्कृतिक अभियान सञ्चालन गर्नका लागि २०४३ चैत्र २६ गते रक्तिम साँस्कृतिक अभियानको गठन भएको थियो । 

स्थापनासँगै रक्तिमले जनसङ्गीतको यात्रालाई घनीभूतरूपमा अघि बढाउन थाल्यो । जीवन शर्मा, राजेश विश्वकर्मा, झोकेन्द्र थापा, देउमाया श्रीस, ध्रुव ज्ञवाली, नामबहादुर थापा, धनराज गुरुङलगायतका कलाकारले शुरुका दिनमा केन्द्रीय टोलीमा रहेर देशका विभिन्न जिल्ला र भारतका कतिपय स्थानमा समेत पुगेर कार्यक्रम दिन थाल्नुभयो । २०४६ सालको जनआन्दोलनको सफलतासँगै परिस्थिति केही सहज र खुकुलो भयो । त्यसपछि रक्तिमको साङ्गठनिक स्वरूप पनि व्यापक हुँदै जान थाल्यो । रक्तिमका गीतसङ्गीतमा जनताका यथार्थ वेदना र उच्च क्रान्तिकारी भाव त छँदै थिए नृत्य र डे«समा समेत रक्तिमले नयाँपन ल्यायो । अपेरा डे«समा एक्सनसहितको नृत्य नेपालमा रक्तिमले नै शुरुमा भित्राएको थियो भन्दा शायद फरक पर्दैन होला । 

२०४६ पछि रक्तिमको केन्द्रीय टोलीमा नारायण योगी, रेम राना, खेम पुन, सचित्र केसी, दलबहादुर विक, कुन्दन राई, निलिमा पुन, लक्ष्मी गुरुङ, नविना केसी, तेजेन्द्र थापा, दीपक परियार, उपेन्द्र केसी, पुष्पा श्रीस, हरिमाया श्रीसलगायतका दजनौँ प्रतिभा सहभागी हुँदै गए । केन्द्रीयस्तरमा नै धेरै टोली निर्माण भए । जिल्ला जिल्ला तथा भारतमा समेत रक्तिमका कलाकार टोली बन्न थाले । रक्तिमका गीतिएल्बम, गीतिपुस्तक प्रकाशित भए । त्यसबाट जिल्ला जिल्लामा जनसाङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न टोलीलाई सहज हुँदै गयो । 

रक्तिमको साँस्कृतिक कार्यक्रम मलाई पहिलोपटक २०४७ सालको वैशाखमा देख्ने अवसर मिलेको थियो, स्याङजा जिल्लाको गल्याङस्थित श्री भानुभक्त माध्यमिक विद्यालयको प्राङ्गणमा । त्यही कार्यक्रमबाट प्रभावित भएर नै म पनि प्रगतिशील साँस्कृतिक आन्दोलनमा सामेल हुने निष्कर्षमा पुगेको थिएँ । हामीले पनि जिल्लामा रक्तिम परिवार गठन गरेर जनसङ्गीतको यात्रालाई जिल्लाव्यापी बनाउँदै गयौँ । यही प्रक्रिया अन्य जिल्लामा पनि चलेको थियो । केन्द्रीय टोलीले बेलाबेलामा साँस्कृतिक प्रशिक्षण चलाउँथ्यो, हामी त्यसमा सहभागी हुन्थ्यौँ । 

केन्द्रीय टोलीमा सहभागी भएर कार्यक्रम दिने अवसर मलाई पहिलो पटक २०५० सालमा मिलेको थियो । रूपन्देहीको बुटवलमा अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलन थियो । त्यही अवसरमा रक्तिमले प्रस्तुत गरेको विविध साँस्कृतिक कार्यक्रममा गीतिनाटक “ठूली” को केही अंश पनि दिइएको थियो । त्यसमा मलाई पनि सानो भूमिकामा अभिनय गर्ने अवसर मिलेको थियो । पछि २०५१ सालमा रक्तिमको केन्द्रले गीतिनाटक “ठूली” देश तथा भारतका विभिन्न स्थानमा समेत प्रर्दशन ग¥यो । यो गीतिनाटक निकै प्रभावकारी र लोकप्रिय बनेको थियो । 

२०५२ सालको अन्तिम महिनादेखि म पनि रक्तिमको केन्द्रीय समितिमा पुगँे । २०५३ भदौदेखि हामीले सडक नाटक ‘कुर्सीको खेल’ प्रदर्शन ग¥यौँ । नारायणगढ, काठमाडौँलगायत देशका विभिन्न शहरमा समेत प्रदर्शन ग¥यौँ । नारायण योगी, रेम राना, लोकबहादुर केसी, डम्मर भण्डारी, दलबहादुर भण्डारी र मलगायतका साथीले शुरुमा त्यो नाटकमा अभिनय गरेका थियौँ । पछि हामीले विविध साँस्कृतिक प्रस्तुतिसमेत जोडेर कार्यक्रमलाई अलि बृहत् बनायौँ । केन्द्रीय टोलीकै आयोजनामा हामीले २०५३ असोजदेखि मङ्सिरसम्म बागलुङ जिल्लामा साँस्कृतिक अभियान सञ्चालन ग¥यौँ । सडक नाटकको टोलीका अलावा दलबहादुर विक (बागलुङ), लक्ष्मी गुरुङ, तेजेन्द्र थापा, ज्ञानु गुरुङ, मीना बुढाथोकी, कमला केसी, चन्दा पुन र दलबहादुर विकलगायतका २१ जना कलाकार साथी त्यस टोलीमा सहभागी रहनुभएको थियो । बागलुङ जिल्लामा चलाइएको रक्तिमको त्यो अभियान एउटा अविस्मरणीय अभियान थियो । त्यतिबेला बागलुङ सदरमुकामबाहेक कुनै पनि गाउँमा मोटरबाटो पुगेको थिएन । हार्मोनियम, कङ्गो, ढोलक, मादललगायतका वाद्यसामग्री, डे«सका झोला र माइकका सामान हामी आफैँले बोकेर हिँडिन्थ्यो । दिनभरि हिँड्यो साँझ कार्यक्रम स्थलमा पुगेर राति १ बजेसम्म कार्यक्रम प्रस्तुत गरिन्थ्यो । बिहान ६ बजे फेरि उठेर अर्को ठाउँको कार्यक्रमका लागि हिँड्नुपथ्र्यो । प्रत्येक ठाउँका कार्यक्रममा जनताको अपार माया मिल्दथ्यो । 

बागलुङ अभियानसँगै देशका अन्य जिल्लाबाट समेत कार्यक्रमको व्यापक माग आउन थालेपछि मङ्सिर महिनाको अन्तिम साताबाट हामीले केन्द्रीयस्तरमा नै दुईवटा टोली बनायौँ । नारायण योगी, रेम रानालगायत सम्मिलित रहनुभएको एक टोली बुटवलबाट पश्चिमतर्फ लागेर कपिलवस्तु, अर्घाखाँची र प्युठानलगायतका जिल्लामा अभियान चलायो भने मेरो नेतृत्वमा पूर्वतर्फ लागेको टोलीले नवलपरासी, चितवन, बारा, पर्सा, उदयपुर, सुनसरी, मोरङ र झापासम्मका जिल्लामा अभियान समापन ग¥यौँ । २०५३ सालको फागुन–चैत्रमा हामीले केन्द्रीयस्तरमा विभिन्न पाँच टोली निर्माण गरी भारत प्रवासका विभिन्न शहरमा कार्यक्रम प्रस्तुत गरेका थियौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भारतव्यापी नगर सम्मेलनका सिलसिलामा त्यसरी हामीले भारतमा कार्यक्रम प्रस्तुत गरेका थियौँ ।

साँस्कृतिक कार्यक्रमको साथसाथै हामीले सङ्गठन निर्माणको कार्यलाई पनि सँगसँगै अगाडि बढाएका थियौँ । २०५४ सालमा हामीले झण्डै ६० जिल्लाको प्रतिनिधित्व गराउँदै काठमाडौँमा ऐतिहासिक रूपमा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थियौँ ।

प्रथम राष्ट्रिय सम्मेलनदेखि चौथो राष्ट्रिय सम्मेलन आयोजना गरिएको २०७५ फागुनसम्मको अवधिमा रक्तिमले केन्द्रीयस्तरमा दजनौँ महत्वपूर्ण अभियान सम्पन्न गरेको छ । चिरन पुन, दलबहादुर भण्डारी, मानबहादुर भण्डारी, भरत श्रेष्ठ, नेत्र राना, दानबहादुर थापा, धनबहादुर थापा, वसन्त नेपाली, सुमन सुवेदी, कल्पना थापा, विरु लामा, कमला पुरी, रमेश मल्ल, काँशीराम सारू, कुमारी पुन, रिता पुन, गीता थापा, ओम श्रीस, वोम सिंजापति, बलबहादुर सिँजाली, नरमाया थापा, मीना बुढाथोकी, थुमराज ढुङ्गाना, लक्ष्मी रिजाल, जीवन शाही, दिलमाया पुन, जीवन पुन, समीर विक, खिमा पुन, सुशीला थापा, विष्णु पुन, नन्दु गुरुङ, सुमन रोका, ज्योति फौजा, विमल पाण्डेलगायत सैयौँ कलाकारको ती अभियानमा अमूल्य योगदान रहेको छ । कठिनभन्दा कठिन परिस्थितिमा पनि रक्तिमका कलाकारले साँस्कृतिक अभियानलाई अघि बढाएका छन । २०५४ सालको हुम्ला अभियान, किसान मार्चसँगको अभियान, २०५७ सालको मेची–महाकाली अभियान, २०५९ सालको देशव्यापी विविध साँस्कृतिक कार्यक्रम, २०६१ सालमा चलाइएको “जवाफ” गीतिनाटकसहितको विविध साँस्कृतिक कार्यक्रम, २०६२–६३ को जनआन्दोलनको पूर्वसन्ध्यामा चलाइएको मेची–महाकाली अभियान २०७१ सालमा संविधान निर्माणलाई दबाब दिन चलाइएको साँस्कृतिक अभियान, २०७४ सालमा सञ्चालित माथिल्लो कर्णाली बचाऔँ साँस्कृतिक अभियानलगायतका दजनौँ महत्वपूर्ण साँस्कृतिक अभियान रक्तिमले सम्पन्न गरिसकेको छ । 

यसबीचमा रक्तिमले भाग–१२ सम्म गीतिएल्बम प्रकाशित गरेको छ भने झण्डै १ सय वटाजति गीत मात्र दृश्याङ्कन भएका छन् । “सिमली छायाँ”, “झरनाको चिसो पानी” र “लेफ्ट राइट कदम बढाऔँ” सिडी÷एल्बम प्रकाशित भएका छन । अन्य गीत छायाङ्कन भएर पनि सिडीमा बाहिर आउन सकेका छैनन् । गीतिनाटक “पूजा” को छायाङ्कन भएर पनि त्यो अझै सिडीमा आउन सकेको छैन । संस्थागत गीतिएल्बम भाग–१२ सम्म मात्र आए पनि त्यसबीचमा किसान मार्चकेन्द्रित, चुनावकेन्द्रित, तीजविशेष र रक्तिम बाललहरीलगायतका गीतिएल्बमसमेत रक्तिम केन्द्रले प्रकाशन गरेको छ । “रक्तिम फूलबारी” र “वर्गयुद्ध” जस्ता गीतिएल्बम, “क्षितिजपारि” भाग–१ र २ सिडी÷एल्बम रक्तिमका विभिन्न जिल्ला एवम् प्रवासमा रहेका समितिले प्रकाशित गरेका छन् । एकाङ्की नाटक “कालो हतियार”, प्रहसन, बाँदरनाच, लघुनाटक “खोइ नेपाल” र “बचाऔँ कर्णाली” लगायत पनि रक्तिमद्वारा विभिन्न स्टेजमा प्रदर्शन गरिएको छ । 

नयाँ नयाँ प्रतिभा जन्मिरहेका छन् । उनीहरूले नयाँ नयाँ गीत ल्याइरहेका छन् । लामो समयसम्म देशभित्र रक्तिम अभियानमा क्रियाशील रहेका सचित्र केसी, प्रकाश बिसी, हुमाकान्त आचार्य, जीवलाल शर्मा, लीला परियार र नवीन बस्याललगायतका कलाकार रोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर पनि त्यहीँबाट सङ्गठित रूपमा रक्तिमका गीतसङ्गीतलाई अघि बढाइरहेका छन् । भारतका दर्जनौँ नगरमा रक्तिम कलाकार अहिले पनि क्रियाशील छन् । 

जीवन शर्मा र रक्तिम पर्यायवाची शब्दजस्तै भएका छन् । कसैले चाहँदैमा र मेटाउन खोज्दैमा रक्तिम इतिहासको त्यो वास्तविकता मेटिने छैन । रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्मा अहिले पनि देशका विभिन्न स्थान तथा विश्वका विभिन्न देशमा पुगेर त्यहाँ रहेका प्रवासी नेपालीका बीचमा रक्तिमका गीतसङ्गीत प्रस्तुत गरिरहनुभएको छ । रक्तिमका पुराना हस्तीहरू देशका विभिन्न भाग र प्रवासमा समेत रहेर प्रगतिशील साँस्कृतिक आन्दोलनमा अहिले पनि क्रियाशील रहिरहेका छन् । रक्तिम यात्राको विगत साँच्चै नै गर्विलो र अविस्मरणीय रहेको छ । जनतालाई सचेत र जागरुक बनाउनका लागि रक्तिमले विगतमा कैयौँ महत्वपूर्ण र ऐतिहासिक अभियान सञ्चालन गरेको छ । विभिन्न चुनौतीको सामना गर्दै रक्तिमका हस्तीहरूले इतिहासमा ती अभियान सम्पन्न गरेका थिए । 

देश सङ्कटमा परेको हरक्षणमा रक्तिम आफ्ना साङ्गीतिक अस्त्रहरू लिएर जनताका बीचमा जाने गरेको छ । रक्तिमका गीतसङ्गीत अहिले श्रमजीवी जनताको मनमस्तिष्कमा गुञ्जिरहेका हुन्छन् । रक्तिम यात्रीहरू शोषणविहीन समतामूलक समाज निर्माणका लालसिपाही हुन् । आफ्नो लक्ष्यप्रति विचलित नभई उनीहरू अगाडि बढिरहनुपर्छ । रक्तिम यात्रीहरूको कर्तव्य अझै पूरा भएको छैन, बरु झनै थपिएको छ । समाजमा अहिले पनि शोषण, दमन, अन्याय, अत्याचार र विभेद बाँकी छन् । व्यवस्था फेरिएको छ तर दीनदुःखीको जीवनस्तरमा अझै आमूल परिवर्तन आउन सकेको छैन । काँडेतारको लामो बाटो अझै हामी हिड्न बाँकी नै छ । यो महान् यात्रामा अघि बढ्दा अनेक प्रकारका चुनौती हाम्राअगाडि आउने गर्छन् । त्यसबाट हामी रत्तिभर पनि विचलित हुनुहुँदैन । 

सर्वहारा साँस्कृतिक क्रान्तिको मूल स्प्रीटलाई आत्मसात गर्दै रक्तिम यात्रीहरू अगाडि बढिरहून् । रक्तिम स्थापनाको चौंतीसौँ वर्षप्रवेशको यस अवसरमा हामी यही अपेक्षा गरौँ । षड्यन्त्रका सारा जाल च्यात्दै, रक्तिमको त्यो गर्विलो इतिहासलाई कायम राख्दै, हरेक चुनौतीको दृढतापूर्वक सामना गर्दै रक्तिम आफ्नो उद्देश्य र लक्ष्यतर्फ अविचलित रूपमा अघि बढिरहने छ । देश र जनताप्रतिको आफ्नो दायित्व पूरा गरिरहने छ ।

 


प्रतिक्रिया दिनुहोस्