स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन्। कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो।
राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक महिला र नौ पुरुष, कञ्चनरूप नगरपालिका-८ स्थित सर्वोदय माविबाट १० पुरुष, विष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि विष्णुपुर कट्टीबाट नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालाबाट एक महिला र सात पुरुष घर फर्किएका हुन्।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएकाहरूलाई तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको बताउनुभयो। मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत विभिन्न देश गएका उहाँहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बस्नुभएको थियो।
अहिले क्वारेन्टाइनमा १४ पुरुष थपिएका छन् । महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा छ, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक पुरुष क्वारेन्टाइनमा थपिएका हुन् । अब क्वारेन्टाइनमा सात महिला र २२० पुरुष रहेका छन्।
कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेसनमा भर्ना हुनुभएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई पनि घर फर्काइएको छ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको आइसोलेसनमा बस्नुभएकी कञ्चनरूप नगरपालिका-११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र ज्वरोलगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो। कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किएको कञ्चनरूपकी लीलादेवी खङ्गले बताउनुभयो।