दिल्लीमा कोभिड-१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ।
“हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारीलाई पूरा गरेका छौँ। यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङक्वीट हल र धर्मशालामा १० हजार गरी ३० हजार विरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको छ,” मुख्यमन्त्री केजरीवालले बताउनुभयो।
उहाँले भन्नुभयो, “राज्य सरकारले गम्भीर प्रकृतिका विरामी जसलाई मुटु, कलेजो, क्यान्सर र मधुमेह र ५० वर्ष माथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ । कोभिड-१९ सङ्क्रमणको सामान्य लक्षण भएका ५० वर्ष मुनिका विरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ।”
उहाँले ३० हजार विरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाब अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध भएको साथै सफाई र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा आवश्यक ड्रेस (पीपीई) को यथोचित प्रबन्धसमेत गरिएको उहाँले बताउनुभयो।