चितवनमा कोरोनाको आशंका गरिएका २१ जनाको रिर्पोट सार्वजनिक

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ०५


भरतपुर । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ। 

सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो। प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार नमूनाको परीक्षण गरिएको हो। 

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउँछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु-याएर परीक्षण थालिने छ। पोजेटिभ  देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराईने छ। अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ। आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम   क्वारेन्टाइनमा छन्। 

अस्पताललाई सामग्री  

भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा श्री   मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसको    जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु एक लाख ९७ हजार ५०० मा खरिद गरिएको बताउनुभयो ।  

कलेजका छात्रछात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । कलेजमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसँग सम्बन्धित विषयमा पढाइ हुन्छ । अस्पतालमा   प्रयोगात्मक कक्षामा सहभागी भएबापत वार्षिकरुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्