संस्मरण । स्मृतिमा रुकुमको खारा मोर्चा

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ०७


दुनियाँभरमा सिङ्गो मानवजाति नै कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेको छ। चीनको वुहान शहरबाट फैलिएको यो महामारी आज विश्वव्यापी बन्न पुगेको छ। नेपालमा आजसम्म ९ जना कोरोना संक्रमित फेला परेकोमा १ जना निको भएर घर फर्किसकेका छन् भने ८ जना हस्पिटलको आइसोलेसन वार्डमा उपचार गरिरहेका छन्। 

सरकारले कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरेको आज १५ दिन पुगिसकेको छ। हामी काठमाडौंको डेरामा रुम क्वारेन्टाइनमा बसिरहेका छौं। अध्ययन, लेखन, दुःखमा परेका साथीहरुसँग फोनमा कुराकानी, सकेको सहयोग र उद्दार यसैमा दैनिकी बितिरहेको छ। 

मैले हिजोमात्र आफ्नो विगततिर फर्केर हेर्ने कोसिस गरें। हाम्रो विगत ज्यादै कठिन, जटिल, संघर्षपूर्ण र गौरवशाली रहेको छ। त्यो विगतको सम्झना गर्दै जाँदा म माओवादी जनयुद्धको मूलतः सैन्य रणनीति र एक हदसम्म राजनैतिक कार्यनीतिमा समेत पुनर्समीक्षा गर्न बाध्य बनाएको एक सैन्य आक्रमणको घटनामा पुगें। 

रुकुमस्थित खारा तत्कालीन शाही सेनाको सैन्य वेस क्याम्पको दोश्रो पटकको आक्रमण– माओवादी सैन्य रणनीतिमा एक घुम्तीको परिघटना बन्न पुग्यो। मैले हिजो यहीँ ऐतिहासिक तर पीडादायी दिनको सम्झनामा घोत्लिएँ। खाराको पुरानो घाउ कोट्याउने धृष्टता गरें। आफैले राजनीतिक शिक्षा दिएर संगठित गरेका मेरा कलिला भाइबहिनीले गरेको वीरतापूर्ण बलिदानलाई सम्झिएँ। मन भारी भयो। वर्गप्रतिको त्यो स्नेह, देश र जनताप्रतिको त्यो निष्ठा र आदर्श जीवनप्रतिको त्यो प्रतिवद्धता, जसले मानिसले आफूलाई बलि चढाउन तयार भयो, ती महान् योद्धाहरुलाई सलाम भन्न मन लाग्यो, सलाम लेख्न मन लाग्यो र कलम समात्ने हिम्मत जुटाएँ।

खारा लडाईं सर्च गर्दा

मैले यसपटक खाराको लडाईंलाई पुस्तक, डायरी, इन्टरनेट, वेवसाइट र युट्युवमा खोज्दै गएँ। स्मृति, भावना र हृदयका पाना–पाना पल्टाएँ। केही भौतिक सामग्री भेटिए भने भौतिक रुपमा केही कमाण्डरलाई सम्पर्क गरेँ।

त्यो समयमा जनमुक्ति सेनाका पाँचौं बिग्रेड कमाण्डर नेवबहादुर कँवर ‘विवेक’का अनुसार उक्त आक्रमणमा जनमुक्ति सेनाका चार वटा ब्रिगेड केन्द्रीत गरिएको थियो। भेरी–कर्णाली (भेक) र सेती–महाकाली (सेम)बाट आएका छैठौं र सातौं ब्रिगेड तथा गण्डक र विशेष क्षेत्र (राप्ती)का चौथो र पाँचौं ब्रिगेड। 

पश्चिमबाट आएका दुई ब्रिगेडलाई एउटा आर्क दिइएको थियो भने बाँकी दुई ब्रिगेडलाई अर्को आर्क छुट्याइएको थियो। सर्वोच्च कमाण्डरको  योजनाअनुसार खाराबाट प्रत्याक्रमणको विजयी अभियान शुरु गर्ने भनिएको उक्त कार्बाहीमा जुन मनोबल र बलिदानको भावना सदस्यहरुमा थियो, सोही अनुरुप मुख्य कमाण्डरहरुबीच नै योजनाको बुझाइ र सम्प्रेषणमा कमी रह्यो, त्यहीँ कारण मोर्चा हारियो भन्ने उहाँको बुझाइ छ। पार्टीको निष्कर्ष पनि यही हो। 

हाम्रोतिर रातभरमा मोर्चा सक्ने कोचिङ भयो तर पश्चिमबाट आएको दुई ब्रिगेडलाई लामो समय टिक्ने र लड्ने अर्थात् दुई रात लड्ने ब्रिफिङ भएछ। हामी होमिएर गयौं र ठूलो क्षति ब्यहोर्नुप¥यो मेरो ब्रिगेडअन्तर्गतको मंगलसेन फस्ट बटालियन सह–कमाण्डर कमरेड चिरनलगायत ठूलो संख्यामा शहादत भयो। विवेक भन्नहुन्छ– ‘टिममा ठूलो क्षति भयो, ब्याक गर्नुप¥यो भनेर पठाएको कमाण्डर नै ढल्यो। सम्झेर कति पीडा हुन्छ। अर्को टोली बंकर खन्दै विस्तारै अघि बढ्दै गरेछ।’

मैले पौष १–१५, २०६७ को हिमालखबर पत्रिकामा अवकाशप्राप्त ब्रिट्रिस जर्नेल साम कोबनको गणेशपुर, खारा र पिली भिडन्तको विश्लेषणात्मक आलेख पाएँ। उनको निष्कर्ष ‘आपसी विवाद, भ्रमपूर्ण योजना र कमाण्डरहरुको गलत निर्णय’ले यी लडाईंहरुमा धेरै मान्छे मारिए भन्ने छ। गणेशपुर र खारामा जनमुक्ति सेनाको र पिलीमा शाही सेनाको कमजोरी के थियो भन्नेमा उनी अलि गहिरिएका देखिन्छन्। विष्लेषण र समीक्षामा उनको आफ्नो कोण छ तर ब्रिटिस गोर्खासँग राम्रो सम्बन्ध बनाएका र नेपालमा धेरैपटक आएर पहाडी इलाकामा पदयात्रा गरेका तथा माओवादी जनयुद्धबारे थुप्रै पटक कलम चलाएका साम कोवनको लेखन अर्थपूर्ण छ।

क्याप्टेन रामेश्वर थापाको बारुदमाथि उड्दाको खाराको अंश पढें। यदि उनले गोलाबारीको बीचमा उच्च जोखिममा खारामा हेलिकोप्टर ल्याण्ड नगरेको भए खारा माओवादीको कब्जामा गइसकेको थियो भन्ने निष्कर्ष उनले पेश गरेका छन्। ‘क्याम्पमा पानी नभएको, खाना नभएको, घाइतेहरु चिच्याइरहेका, सेनाका दुई वटा हेलिकोप्टर नै माओवादी सेनाको गोली लागेर सदरमुकाम ल्याएर थन्काइएको, सेनाको मनोबल गिरेको, प्यारजंग थापादेखि राजेन्द्रबहादुर सिंहसम्मले अब अन्तिम आशा तपाईंको हो’ भनेको उनको लेखाइबाट पनि यो मोर्चा शाही सत्ताले हार्ने निश्चित रहेछ तर क्याप्टेन थापा जीवनबुटी बनेर खारा पुगेछन्, जसले जनमुक्ति सेनालाई मोर्चाबाट पछि हट्न बाध्य बनायो।

‘युद्ध संस्मरणः खारा मोर्चामा मेरो सहभागिता’ भन्ने शीर्षकमा शुभेच्छा शाहीले साहित्यसंग्रह डक कममा प्रकाशित अनुभूति पढ्दा योद्धाहरुको बलिदानी स्प्रीट र मोर्चा हारेपछिको मनोवैज्ञानिक प्रभावलाई प्रष्ट देख्न सकिन्छ। 

पूर्ण भण्डारी ‘पङ्कज’को सल्लेरीखबर डट कममा प्रकाशित रुपेशको नाममा लेखेको पत्रमा खारा युद्धका बखत आम बुद्धिजिवीको मनोदशा पढ्न सकिन्छ। 

युट्युवहरुमा खारा लडाईंका थुप्रै कथा कहानी भेट्न सकिने रहेछ। डिल्ली मल्लले अपलोड गरेको जनमुक्ति सेनाको खारा आक्रमणको प्रत्यक्ष लडाईंकै भिडियो रहेछ। आक्रमणको पूर्वयोजना, कमाण्डरहरुको ब्रिफिङदेखि युद्धभित्रका केही दृश्य त्यसमा हेर्न सकिने रहेछ। 

युट्युवमै रोल्पा जौलीपोखरीका एलएमजी ग्रुपका कमल विक (विनोद)को आफ्नो कमाण्डरलाई शाही सेनाको बङ्करतिर पस्नै लाग्दा गुमाएको अनुभूति, अर्धमुर्छित अवस्थामा शाही सेनाको ब्यारेकमै ढलेकी कमरेड झरना, जसलाई एक जना सेनाका जवानको मानवताले गर्दा बचेर फर्किएको अनुभूति तथा एकीकृत सुरक्षा बलमा रहेका नेपाल प्रहरीका मिथुन कुमार गौतमको खारा लडाईंको अनुभूति सुन्दा यो लडाईंको भीषण स्वरुप थाहा पाउन सकिन्छ। 

जनसेनाको भौतिक क्षति

यो लडाईंमा जनमुक्ति सेनाले २७ र २८ चैत्रसम्म जाँदा ब्रिगेड भिसी कमरेड बसन्तलाई समेत गुमायो। खारामा २०० माओवादी मारिए पनि भनियो, कमरेड विवेकको भनाई अनुसार त्यो संख्या भने झुठो कुरा थियो तर ७० को हाराहारीमा योद्धाहरुको शहादत सामान्य क्षति अवश्य पनि थिएन। मगराँत राज्य समितिले प्रकाशन गरेको सहिद परिचयमालामा रुकुमबाट १६, रोल्पाबाट १४ र सल्यानबाट ९ जनासहित जम्मा मगराँत राज्यबाट ४३ जना योद्धाहरुको यो लडाईंमा शहादत भएको देखिन्छ।

खारा आक्रमणको अघिको राजनीतिक पृष्ठभूमि

२०६१ माघ १९ गते नेकपा (माओवादी)को पोलिटव्युरो बैठक रुकुमको लाबाङमा बस्यो। बैठकले ६ महिनाअघि शुरु गरिएको रणनीतिक प्रत्याक्रमणको पहिलो योजना कार्यान्वयनको प्राथमिक समीक्षा ग¥यो। बैठकले प्रत्याक्रमण अवसरवादका विरुद्ध पनि गर्ने निर्णय ग¥यो। यो निर्णय पार्टी नेतृत्वले उठाएको अर्को जोखिम थियो। 

कुख्यात दरबार हत्याकाण्डपश्चात राजा बनेका ज्ञानेन्द्र शाहले नयाँ–नयाँ कठपुतली तयार गरेर शासन लम्ब्याउने कोशिस गरिरहेका थिए। १८ असोजको शाही कदमपछि दुई पूर्वपञ्च चन्द र थापालाई क्रमशः प्रधानमन्त्री बनाइसकेका ज्ञानेन्द्रले २०६० जेठ १९ देखि उक्त भारी नेकपा (एमाले) सहितको नयाँ कठपुतली शेरबहादुर देउवाको थाप्लोमा सुम्पिएका थिए र माघ १९ गते नै उनले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर शेरबहादुर देउवालाई लात हाने। अब भने लडाई आमने–सामने भएको थियो। एकातिर हिरो (प्रचण्ड) र अर्कोतिर भिलेन (ज्ञानेन्द्र) का बीचमा। एकातिर जनताको ताकतमा निर्मित जनमुक्ति सेना थियो भने अर्कोतिर अमेरिकी सेनाको तालिम, हतियार, फोर्टिफिकेशन, पैसा, एमुनेशन र सैन्य रणनीतिसहितको शाही सेना थियो। खासमा रुप नेपाली, सार अमेरिकी भएकोले माओवादी उक्त सेनालाई ‘शाही अमेरिकी सेना’ नाम दिएको थियो। यो निरंकुश राजतन्त्र र साम्राज्यवादी शक्तिबीच माओवादी समाप्त पार्ने विचित्रको समागम थियो। अमेरिकी सैन्य रणनीतिअन्तर्गत तयार गरिएको पुरानो सत्ताको सैन्य अखडामाथिको निर्णायक आक्रमण थियो खारा आक्रमण।

तर आक्रमण सफलतामा पुग्न सकेन। चैत २५ गते साँझ ६ बजे आक्रमणको सूचना पाएर ब्यारेक बाहिर निस्केको सेनासँग पहिलो झडप भइसकेको थियो। लडाई रातभर चलिरह्यो। जनमुक्ति सेना नाइटभिजन हेलिकोप्टरको पर्वाह नगरि लडिरह्यो। बिहान पनि लडाई चलिरह्यो, जब सेनाको एमआई सेभेनले खारा व्यारेकमा ल्याण्ड ग¥यो, तत्पश्चात ब्यारेक कब्जाको लडाईं टुङ्गियो। क्याप्टेन रामेश्वर थापाको कुरालाई मान्ने हो भने हेलिकोप्टर ल्याण्ड हुन नपाएको भए….। जीत माओवादीको हातमा थियो। तर यता कमाण्डरहरुकै योजनाको बुझाइमा समस्या भएपछि लडाईं जित्ने सम्भावना थिएन नै त्यसमा पनि एकपटक असफल भइसकेको प्वाइन्टको छनौट गर्नु, गणेशपुरको लडाईंबाट आएको सेनालाई आवश्यक मानसिक र भौतिक तयारीको वातावरण निर्माण गर्दै सुदृढ कमाण्ड तयार गर्न नसक्नुजस्ता कुराहरु आजसम्म पनि समीक्षाका विषय बनिरहेका छन्।

जाजरकोटबाटै सुन्यौं खाराको लडाईं 

हामी पाँच दिन अघिदेखि जाजरकोटको अर्छानीमा थियौं। पार्टी केन्द्रको निर्णयअनुसार स्कुल विभागले पार्टीका तीनवटै कमाण्डमा केन्द्रीय पार्टी स्कुल चलाउँदै रहेछ। सोही योजनाको कार्यान्वयन पश्चिम कमाण्डबाट भइरहेको थियो। कमरेड लालध्वज (डा.बाबुराम भट्टराई)को कार्बाहीपछि स्कुल विभाग प्रमुखको जिम्मा रविन्द्र श्रेष्ठलाई दिइएको रहेछ। हेमन्तप्रकाश वली ‘सुर्दशन’, देवेन्द्र पौडेल ‘सुनिल’लगायत कमरेडहरु स्कुल विभागमा हुनुहुन्छ भन्ने सर्कुलर थियो। देवेन्द्र कमरेडलाई पनि राजिनामा मागियो भन्ने कुरा थियो तर पनि उहाँ प्रशिक्षकको रुपमा जाजरकोट देखेपछि भने हामीले यो कार्बाही वा राजिनामा भन्ने कुरा नेतृत्व तहको वैचारिक कुरा रहेछ भन्ने बुझ्यौं। यो कुरा देख्न हामीले धेरै दिन भने कुर्नु परेन। २०६२ असोजमा चुनबाङ बैठकमा पुगेर कमरेड प्रचण्ड र लालध्वज एक–अर्कामा विलय भएको घोषणा गरे। अबको राजनीतिक यात्रामा फेरि एक ठाउँमा आउलान्÷नआउलान् त्यो त भन्न अप्ठ्यारो छ।

जाजरकोटको अर्छानीमा चैत्र २१ गते केन्द्रीय पार्टी स्कुल उद्घाटन भयो। पश्चिम कमाण्ड इन्चार्ज कमरेड देव गुरुङ (कान्छाबहादुर)ले उद्घाटन मन्तव्यमा पार्टी नीति र राष्ट्रियताबारे विस्तृतमा प्रकाश पार्नुभयो। पहिलो दिन उद्घाटन कार्यक्रममै बित्यो। रविन्द्र सभाध्यक्ष, सुदर्शन सञ्चालक, सुनिलको स्वागत मन्तव्यसँगै भेरीकर्णाली इन्चार्ज कमरेड प्रकाण्ड, केन्द्रीय सदस्यहरु कमरेड नारायण दाहाल ‘सरल’ र कमरेड मायाप्रसाद शर्मा ‘पारसमणि’ले मन्तव्य राख्नुभयो। 

सहभागीको तर्फबाट सेती–महाकाली (सेम) व्युरोबाट मैले, भेरी–कर्णाली (भेक) व्युरोबाट कमरेड राहुल (पछि सहिद हुनुभयो), जनमुक्ति सेनाको डिभिजनबाट प्रशान्त र कमाण्ड व्युरोबाट प्रभाले मन्तव्य राख्नुभयो। उक्त पार्टी स्कुलमा सेती–महाकाली क्षेत्रीय व्युरोबाट म आफै, शरदसिंह भण्डारी, टेकेन्द्र भट्ट ‘विक्रम’, बलवान, देवराज रेग्मी ‘विद्रोही’, धिरिन्दा उपाध्याय ‘भृकुटी’, युनिर्भसल, दुर्लभ पुन ‘दिक्पाल’, लक्ष्मी जोशी ‘सुरज’, धर्मराज विक ‘अर्जुन’, निशान सिंह, विश्वप्रकाश, चक्रदेव, एम.बी. सर्वहारा, महान चौधरी, रामप्रसाद तिमिल्सेना ‘राप्ती’, केशव, महेश र प्रतीक सहभागी हुनुहुन्थ्यो। पार्टी स्कुलमा दर्शनशास्त्र कमरेड सुदर्शन, राजनीतिक अर्थशास्त्रमा कमरेड रविन्द्र र वैज्ञानिक समाजवाद कमरेड सुनिलको विषय थियो।

विषयगत स्कुलको चौथो दिन साँझ खारामा शुरु भएको भिडन्त अर्छानीमा स्पष्ट सुनिन्थ्यो। बम र बन्दुक पड्केको आवाज वायुमण्डल चहारेर पश्चिमतिर यात्रा गरेजस्तो आभाष हुन्थ्यो। हामी रातभर जागा रह्यौं। बिहान जनमुक्ति सेनाको विजयको खबर सुन्ने ठूलो हुटहुटी थियो। बिहानको ८ बज्यो, लडाईं सकिएन। १० बजेतिर खबर आयो– ब्यारेक कब्जामा आउन सकेन। टोली पछाडि फक्र्यो। धेरै कमरेडहरुको सहादत भयो रे। २६ गते हाम्रो लागि राम्रो दिन रहन सकेन। हाम्रो मथिंगल विथोलिएको थियो। २७ गते बिहान खाराका सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण ग¥यौं र पार्टी स्कुलको बाँकी काम २८ गते पूरा ग¥यौं।

जब भतिज र भाइबहिनीहरुलाई सहिदको सूचीमा देखें

खारा मोर्चामा कसले जीवन उत्सर्ग गर्नुभयो तत्काल थाहा हुन सकेन। ब्रिगेड भिसी बसन्त केही दिनपछि रोल्पामै सहिद हुनुभएछ। यो लडाईंमा कम्पनी कमाण्डर मेरो भतिजा जीतबहादुर शाह ‘सौगात’, प्लाटून कमाण्डर बहिनी द्रोणा गिरी ‘चेतना’लगायतका भाइबहिनीहरु– जसलाई म आफैले राजनीतिक शिक्षा दिएँ र विद्यार्थी संगठनमा संगठित गरें, उनीहरु हामीबाट सदाको लागि बिदा भएछन्। उनीहरुको नाम सहिदको सूचीमा देखें– खबरले साह्रै बेचैनी बनायो। सौगात सहिद हुँदा बालिका पुन ‘साधना’ सुत्केरी थिइन्। सौगातले छोरा जीवनलाई छोडेर गयो। उ अहिले एसईईको तयारी गरेर बसेको छ। यति असल, कुशल, निर्भिक र अविचल कमाण्डर खाराको माटोमा विलीन भए। 

चेतना कति राम्रो मृदुभाषी थिइन्– पढाइमा सधैं अब्बल। विद्यालय शिक्षा पूरा हुँदा नहँुदै भूमिगत भइन्। कुशल संगठक थिइन् उनी, सैन्य संगठनमा भर्ती भइछन्, मैले त सहिद भएको खबर र सैन्य मोर्चामा सामेल भएको खबर एकैपटक सेती–महाकालीमा सुनें। बामेका कम्पनी भिसी गोविन्द राना ‘सुरज’, बामे च्युरीगैराकी सेक्सन भिसी तुलसा पुन ‘सुलोचना’, हिवल्चा पैयाँखर्कका सेक्सन कमाण्डर मानबहादुर डाँगी ‘आकाश’, कालागाउँ नेटाकी रिता कुँवर, बडागाउँका लालबहादुर बुढामगर ‘जीवनसुन्दर’, हिवल्चाका तोजबहादुर चलाउने ‘अजय’, र ढाकाडामका पार्टी एरिया सदस्य यज्ञबहादुर खड्का ‘निर्मल’ यो लडाईंमा सहिद हुनुभयो।

खारामै भएको पहिलो युद्ध (२०५९) मा मेरो प्रिय कमरेड कालागाउँ कोर्तीका सेक्सन कमाण्डर टिकाराम गिरी ‘आकाश’, सिनबाङ–१ घरनेटाका सेक्सन कमाण्डर जीवन महतरा ‘हिमाल’, शिवरथ भिरगाउँका सेक्सन भिसी रामबहादुर पुन ‘राकेश’, सारपानी गर्पाका बीरबहादुर राना ‘सरोज’ले शहादत प्राप्त गर्नुभएको थियो। उहाँहरु लगायत सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन।

नेपालमा आज जुन परिवर्तन सम्भव भएको छ, ती महान सहिदहरुको बलिदानले सम्भव भएको हो। सहिदको सपना भनेको समृद्ध देश, सुखी जनता, विभेदरहित र भ्रष्टाचारमुक्त समुन्नत समाज निर्माण गर्नु हो। मेची–कालीमा पानी मात्र बगेन थुप्रै रगत बगेको छ। सहिदको सपनामाथि खेलवाड गर्ने छुट हामी कसैलाई पनि छैन। आजको भौतिक परिवेशले सत्ताको चरित्रलाई अझ बढी दलालीकरणतिर धकेलिरहेको छ तर जागरुक जनताले सत्ताधारीको आयुको फैसला गर्दछन्। छलछाम र षड्यन्त्र अक्षम्य अपराध हुन भनिरहनु पर्दैन। यही सचेत जनसमुदायले मुलुकलाई समाजवादको बाटोमा डो¥याउन मार्गनिर्देशन गर्नुपर्दछ। हाम्रा अगाडि मानवजातिलाई नै चुनौती दिने कोभिड–१९ जस्तो महामारी विश्वव्यापी भएको छ। कोभिड–१९ सँग जुधिँरहँदा पनि विभेद र भ्रष्टाचारजन्य महामारीसँग जुध्नुपरेको छ। यो घडिमा वातावरणीय विचलन र मानवीय विचलनका सबै परिणामहरुसँग जुध्ने प्रेरणा महान सहिदहरुबाट लिउँ र विजय अभियानमा अघि बढ्ने संकल्प गरौं।

हेर्नुहोस् यो भिडियो खारा आक्रमणको तयारी गर्दै जनसेनाका कमाण्डरहरु र आक्रमणका केही फुटेजहरु-
 


प्रतिक्रिया दिनुहोस्