रोग लुकाउनु युद्ध अपराधजस्तै कमजोरी

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : १९


कोभिड– १९ विरुद्धको संघर्षमा चिकित्साकर्मीहरु नै फ्रन्टलाइन योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गर्नु पर्दछ । हौसला प्रदान गर्नु पर्दछ ।

यो लडाइँको मुख्य संयोजनकर्ता राज्य हो । यसमा राज्यका सबै अंगहरु राजनीतिक, प्रशासनिक र जंगी सबै एकजुट भएर परिचालित हुनुपर्दछ ।

सेना पनि राज्य र सरकारको मातहतको महत्वपूर्ण अंग हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै नेपाली सेनालाई पनि यस लडाइँमा प्रभाकारी ढंगले परिचालन गर्नु पर्दछ ।

संकटपूर्ण परिस्थितमा निजामती प्रशासनको तुलनामा जंगी प्रशासनको परिचालन बढी प्रभावकारी हुन्छ । विगतदेखि नै राज्यले यो अभ्यास गर्दै आएको छ ।

यस महामारी विरुद्धको संघर्षमा जनताको सहयोग निकै नै महत्वपूर्ण छ र आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।

जनताका बीचबाट संगठित राजनीतिक दल लगायत सबै संस्थाहरु यस अभियानमा सहयोगी बन्नु आवश्यक हुन्छ ।

संक्रमण फैलन नदिन सामाजिक दुरी सबैभन्दा ठूलो हतियार हो । लकडाउन सोही प्रयोजनका लागि हो ।

लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाई व्यहोर्नु पर्ने हुनसक्छ । त्यस्ता व्यक्तिहरुका लागि सबै मिलेर एकद्वार प्रणालीबाट सहयोग गर्नु पर्दछ ।

राहतको व्यवस्था पालिकाले गर्ने र वितरणको व्यवस्था वडा कार्यालयको व्यवस्थापनमा टोलसंस्था मार्फत गरिनु पर्दछ ।

भारत लगायत तेस्रो मुलुकबाट आएका सबैजना क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेर सहयोग गर्नु पर्दछ ।

कोभिड– १९ को लक्षण देखिएका सबैमा संक्रमण भएको हुन्छ भन्ने होइन । तर पनि आइसोलेसनमा बसेर उपचार गराउनु पर्दछ । त्यसका लागि सामाजिक दुरी कायम गर्दै नजिकैको स्वास्थ्य संस्थामा जानु पर्छ । सरकारले त्यस्ता सबैको स्वाव परीक्षणको व्यवस्था मिलाएको छ ।

कोभिड– १९ को उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ । कसैले पनि रोग लुकाउने गल्ती गर्नु हुँदैन । यतिबेला रोग लुकाउनु युद्ध अपराध गरेजस्तै कमजोरी हुनेछ ।

अस्पतालमा आएका विरामीका आधारमा हामी कोभिड १९ को महामारीबाट जोगिन सक्ने अवस्थामा नै छौं । तर उच्च सतर्कता आवश्यक छ ।

यस लडाइमा भ्रम र अफवाह फैलाउनेहरु तथा भीडभाडजन्य परिस्थिति सिर्जना गर्नेहरु समाजका सबैभन्दा ठुला शत्रु हुन् । यस प्रवृत्तिबाट सबैजना जोगिनु पर्दछ ।
 


प्रतिक्रिया दिनुहोस्