बुटवल । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार गण्डकी र सुदूरपश्चिम प्रदेश तथा भारतसँग सीमा जोडिएका ६ वटा पालिका प्रमुखहरुसँग एकीकृत भिडियो सम्वाद गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे पालिका प्रमुखहरुसँग भिडियो सम्वाद गर्नुभएको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्याल भिडियो संवादमा सहभागी हुनुभएको थियो ।
कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरिएका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोख्रेलले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गर्नुभएको थियो ।
पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभएको थियोे । उहाँहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह गर्नुभयो ।
स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहाँ आइसियुसहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले जानकारी गराउनुभयो । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
सबै जिल्ला अस्पताल र चारवटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उहाँले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताउनुभयो । कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो ।
अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभयो ।