भारतको एउटै अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोनाभाइरस

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ४२


मुम्बई । भारतको मुम्बईमा एक अस्पतालमा एकैपटक २६ नर्स र ३ जना डाक्टरलाई कोरोनाभाइरस संक्रमण भएको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको टाइम्स अफ इन्डियाले लेखेको छ। 

टाइम्स अफ इन्डियाका साथै अन्य भारतीय सञ्चारमाध्यामहरुका अनुसार ठूलो संख्यामा नर्स र डाक्टरहरूलाई कोरोनाभाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।

बृहत मुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ।

मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोनाभाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ती वृद्धलाई परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो। उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना पुष्टि भएको थियो।

संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ।

पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्