“अचेल भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : २५


यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आतङ्कित पारिरहेको छ। दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले मानव अस्तित्वमै सङ्कट उत्पन्न भएको आँकलन गर्न थालिएको छ । 

यो अकल्पनीय र जोखिम अवस्थामा सेतो कोर्टधारी डाक्टरहरु आफ्नो जीवनको पर्वाह नगरी ज्यान बचाउनका लागि युद्धस्तरमा काममा खटिएको छन् । सामाजिक सञ्जालहरुमा अहिले छाइरहेको छ, “अचेल भगवान् मन्दिरमा होइन अस्पतालमा छन् ।” 

देशभरि अहिले नौजनामा कोरोना सङ्क्रमण देखिएको छ। दुईजना गण्डकी प्रदेशको बागलुङ जिल्लाको आइसोलेशन वार्डमा उपचार गराइरहेका छन्। यस्तै जोखिम अवस्थामा आफूलाई होमेर बिरामीको सेवामा खटिएका भगवान्रुपी चिकित्सकको अनुभव के छ त ? यतिबेला उनीहरु कसरी काम गरिरहेका छन् भन्ने विषयमा राससले गरेको सङ्क्षिप्त कुराकानी 
शैलेन्द्र विक पोखरेल 
मेडिकल सुपरिटेन्डेन्ट धौलागिरि अञ्चल अस्पताल, बागलुङ

डाक्टर भएको नाताले बिरामीको सेवा नै पहिलो दायित्व  हो।  अहिलेको यो जोखिम अवस्थाले मनोवैज्ञानिक असर पनि उत्तिकै गर्ने रहेछ। पर्याप्त स्रोत र साधनबिना नै जोखिम मोल्नु भनेको हतियारबिना नै युद्ध मैदानमा होमिनु जस्तै हो। हामी उच्च मनोबल र दृढताका साथ कोरोना सङ्क्रमितको सेवामा जुटिरहेका छौँ। यो कठिन परिवेशमा सम्बन्धित निकायबाट निर्देशन दिने र बिरामीको सेवा नगरे कारवाही गर्ने जस्ता कुरा मात्र आएका छन् । बिरामीको सेवा गर्ने भनेर नै जीवनको महत्वपूर्ण समय यस क्षेत्रमा डाक्टरहरुले बिताएका छन् । यतिबेला कुनै पनि सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल बढाएर कार्यक्षेत्रमा लाग्ने प्रेरणा दिइएको छैन । केवल धम्क्याए जस्ता निर्देशन आउने गरेका छन् । 

आजसम्म हजुरहरुलाई कस्तो छ, के सोचिरहनुभएको छ, के सामग्री आवश्यक छ, आफ्नो जीवनको पनि सुरक्षामा ध्यान दिनु भनेर कसैले भनेका छैनन् । जिम्मेवार व्यक्तिहरुबाट पनि मानवीयता देखिएको छैन । मनोवैज्ञानिक त्रास लिएर भए पनि सेवामा खटिएका छौँ । 

डा अर्जुन आचार्य निर्देशक 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, 
पोखरा 

अहिलेको अवस्था विश्वमै स्वास्थ्य क्षेत्रमै चुनौतीको अवस्था हो । यसले डाक्टरमा पनि एक प्रकारको त्रास र भय पक्कै सिर्जना गरेको छ । हरेक मानवले आफ्नो सुरक्षा खोज्नु स्वाभाविक भएजस्तै डाक्टरले नि ‘प्रोटेक्सन’ खोज्छन् । त्यसको लागि राज्यले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डलाई पालना गरेर स्वास्थ्यकर्मीको ‘प्रोटेक्सन’ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने दायित्व रहन्छ । यदि सम्पूर्ण कुराको उपलब्ध भए चिकित्सक एवं स्वास्थ्यकर्मीले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्छन् । अहिलेको अवस्थामा डाक्टर नै जोखिममा रहेर उपचार गर्दा उसको परिवार पनि उत्तिकै जोखिममा हुने देखिन्छ । यस्ता कतिपय कुराले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर पर्नु स्वाभाविक हो । राज्यले पूर्णरुपमा चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ । 

डा प्रदीप श्रेष्ठ

फिजिसियन एवं संयोजक र्यापिड रेन्पोन्स टिम 
धौलागिरि अञ्चल अस्पताल, बागलुङ

विश्वभरि फैलिएको कोरोना सङ्क्रमणले स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ । विश्वका अन्य मुलुकका दिनप्रतिदिन स्वास्थ्यकर्मीहरु सङ्क्रमित भएको र मृत्यु भएको समाचार पढिरहँदा र हेरिरहँदा कता कता डर सिर्जना हुन्छ । अहिले प्रदेशमा देखिएका दुई सङ्क्रमितलाई मेरो प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । एकजना सामान्य हुनुहुन्छ भने एकजना दम र प्रेसरका बिरामी हुनुहुन्छ, उहाँको स्वास्थ्य अवस्थालाई सामान्य बनाउन हाम्रो टोली लागिपरिरहेको छ  । 

¥यापिड रेस्पोन्स टोलीको संयोजकसमेत भएको हुँदा पनि म ‘रिस्क’मा छु भन्ने लाग्छ । यहाँ व्यक्तिसँगको सवाल नभई कोभिड–१९ भाइरस डरलाग्दो रुपमा देखिएको छ, जसबाट जोगिन एकदम सतर्कता आवश्यक छ । पेशामाथिको चुनौती त छँदैछ, परिवारमा पनि जोखिम हुने सम्भावना उत्तिकै हुन्छ । यस्तो अवस्थामा बलियो मानसिकता बनाएर सेवामा लाग्नु विकल्प छैन । 

राज्यले यस्तो कठिन परिस्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन आवश्यक भौतिक र नैतिक कुरामा जोड दिएर हौसला प्रदान गर्नुपर्छ । 

डा टुमाया घले

मेडिकल सुपरिटेन्डेन्ट, गण्डकी मेडिकल कलेज, पोखरा 

अहिलेसम्म पोखरामा कोरानो भाइरसको सङ्क्रमण देखिएको छैन । पिसिआर मेसिनबाट नियमित नमूना सङ्कलन भइरहेको छ । हामी पूर्ण तयारी अवस्थामा छौँ । पर्याप्त पिपिईको उपलब्धता नहुँदा जोखिम देखिएको छ । सरकारले चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन भावनात्मक कुरालाई पनि जोड दिनुपर्छ । अहिलेको अवस्थाले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई पनि हतोत्साही गराइरहेको छ । यो बेलामा पिपिईलगायत आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएर हौसला दिनुपर्छ । केवल सेतो कोटको परिभाषा दिएर मात्र पुग्दैन । हामी हाम्रो कर्तव्यबाट विमुख छैनौँ । राज्यले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस्