‘एजेन्ट’लाई कमिसन नदिन पर्यटनमन्त्रीको निर्देशन

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ५९


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ।

अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिनुभएको हो।

पर्यटनमन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई एजेन्टलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएका विषय स्पष्ट पार्न आग्रह गर्नुभएको छ।

यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर रु. २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएलगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिनुभएको उहाँनिकट स्रोतले बताएको छ।

उक्त सम्बन्धमा निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो।

तर मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भन्नुभएको छ। नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारवाहीको दायरामा ल्याउने चेतावनी मन्त्री भट्टराईले दिनुभएको छ।

अष्ट्रेलियन दूतावासले दिएको काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ उडानबापतको चार लाख ३९ हजार २०० डलर र प्रत्येक यात्रुको ट्याक्ससमेत गरी पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ।

बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरेबापत पाँच प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७७० रुपैयाँ पाइसकेको समाचार प्रकाशित भएको छ। तर निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमन बापतको रकम दिइ नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो निगमकै खातामा छ, बोन ट्राभललाई दिइएको छैन।’

यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो। नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले शुल्क लिएको छ।

निगमले २५ घण्टा (काठमाडौं–अष्ट्रेलिया–काठमाडौं) उडानको चार्टर बापतको रकम पाँच करोड ४९ लाख १५ हजार ४०० रुपैयाँ तिरेको हो। यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार बाहिर आएपछि मन्त्री भट्टराईले ‘एक्सन’ लिनुभएको हो।


प्रतिक्रिया दिनुहोस्