कोरोना फैलिएपछि चीनबाट ४ लाख भन्दा बढि मानिस पुगेका थिए अमेरिका

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : ३८


एजेन्सी । अमेरिकामा अन्य देशको भन्दा कोरोना भाइरस पीडितको संख्या सबैभन्दा बढी छ।

न्यु योर्क टाइम्समा प्रकाशित एउटा रिपोर्ट अनुसार चीनको वुहानमा कोरोना भाइरस फैलिएको केही दिनमै ४ लाख ३० हजार भन्दा बढि मानिसहरू त्यहाँबाट अमेरिका गएका थिए।

वुहानमा कोरोना फैलिएपछि अन्य देशको तुलनामा सबैभन्दा पहिले अमेरिकाले आफ्ना नागरिकलाई चीन छाड्न आदेश गरेको थियो।

तर,हाल कोरोनाको उदगम स्थल वुहानमा भने कोरोना भाइरस संक्रमणको कुनै घटना छैन।

समाचारका अनुसार अधिकाशं यात्रुहरू भाइरसको केन्द्र वुहान शहरबाट सिधा अमेरिका पुगेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध लगाउनु भन्दा पहिले अमेरिकाका विभिन्न १७ राज्यमा १३ सय प्रत्यक्ष उडान भएको थियो।

त्यसक्रममा चीनबाट लाखौ मानिस अमेरिका उत्रेका थिए।

हवाईयात्रामा चीनबाट आएका यात्रुहरूको चेकजाँच समेत राम्रो सँग नभएको बताइएको छ।

जनवरीको सुरुमा चिनियाँ अधिकारीहरूले भाइरसको महामारीलाई हल्कासँग लिइरहेका थिए।

अमेरिकामा त्यसबेला चीनबाट आउने कुनै पनि यात्रुलाई उनमा भाइरस संक्रमण छ/छैन भनेर चेकजाँच गरिएन।

यसकारणले गर्दा पनि अमेरिकामा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित रहेको भनेर विश्लेषण भइरहेको छ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट ३ लाख ११ हजार मानिस संक्रमित भएका छन भने साढे ८ हजार बढि मानिसको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्