न्युयोर्क। अमेरिकाको सबैभन्दा बढि कोरोना भाइरस प्रभावित न्यूयोर्क शहरमा २ जना नेपालीको शव फेला परेको छ।
नेपालको मुस्ताङ घर भएका दुबै जनाको बसिरहेको अपार्टमेन्टमै निधन भएको हो।
निधन भएकाको शवलाई प्रहरीले र मेडिकल टोलीले लगेको छ। मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन।
न्यूयोर्क स्थित सन्नीसाइडको अपार्टमेन्टमा विगत २० वर्ष देखि बस्दै आएका मुस्ताङका थोक्मे बिष्टको शनिवार भएको थियो।
आफन्तका अनुसार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट उपचारका लागि अस्पताल गएका थिए।
त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएकोमा निधन भएको हो। अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ।
बिष्ट ४८ बर्षका थिए । बिष्टका दुईवटा छोरा र श्रीमतती काठमाडौंमा बस्दै आएका छन् ।
बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन्।
मुस्ताङनै घर भएका न्युयोर्कको क्वीन्स जमैकामा बस्ने अर्का नेपाली सोनाम लामाको पनि मृत्यु भएको छ।
सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ। जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ।
उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।
उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ।
यसअघि नेपाली अनिल लिम्वुको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा निधन भएको थियो ।