‘लकडाउन’ले मजदूर समस्यामा

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ३३


पोखरी चैनपुर सडक खण्डलगायत जिल्लाका विभिन्न विकास निर्माणको आयोजनामा काम गर्ने मजदूर देश ‘लकडाउन’ भएसँगै रोजीरोटीको समस्यामा परेका छन् । चैनपुर पोखरी सडकखण्डमा कालोपत्र गर्ने मजदूर लकडाउनपछिको समयमा घरपरिवार सम्झँदै असहज जीवन बिताइरहेका छन् । 

पर्सा, कैलाली, रौतहटलगायतका जिल्लाबाट सडक निर्माण गर्न चैनपुर आइपुगेका सुपरभाइजर, फिल्ड इञ्चार्ज, लोडर, ग्रेडर अपरेटर, ड्राइभरलगायत श्रमिक लकडाउनपछि न त घर नै जान पाएका छन् न त बसाइमा उनीहरुको सहजता छ । सो आयोजना कालोपत्र गर्ने क्रममा ३० जनाभन्दा बढी मजदूरहर लकडाउनमा परेपछि ग्यास, तरकारी र अन्य खाद्यवस्तुको अभाव शुरु भएको मजदूरले गुनासो पोख्छन् । 

पोखरी चैनपुर सडक कालोपत्र गर्ने कार्य तीव्रगतिमा सञ्चालन भइरहेको यो सडक खण्डमा डिविएसटी (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न शुरु भइसकेका थियो । चैनपुरको जिरो प्वाइन्टबाट पोखरीको दाहालडाँडासम्म आठ किलोमिटर लम्बाइ रहेको यो सडक स्थानीय चैनपुर नगरपालिका सरकारको रु पाँच करोड ५९ लाख बजेटबाट कालोपत्र गर्न शुरु गरेको थियो । 

अस्पताललाइ उपकरण 

अरुण तेस्रो आयोजनाको निर्माण कम्पनी एसजेभिएन कम्पनीले जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख मूल्य बराबरको सामान हस्तान्तरण गरेको छ । गत मङ्गलबार खाँदबारी जिल्ला अस्पताललाई भेन्टिलेटर मेसिनसहितको उपकरण निःशुल्क दिइएको हो । खाँदबारी अस्पतालाई भेन्टिलेटर दुई थान, डिलक्स बिरामी श्यया सात थान, सघन उपचार कक्ष श्यया तीन थान, सक्सन मेसिन तीन थानलगायतका उपकरण एसजेभिएनका सिइओ अरुन धिमानले अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । 

बजार मूल्यमा रु ३४ लाख मूल्य पर्ने दुई वटा भेन्टिलेटर निःशुल्क खाँदबारी अस्पताललाई दिए पनि दक्ष जनशक्तिको अभावमा भेन्टिलेटरसमेत प्रयोगविहीन अवस्थामा अस्पतालको कोठामा थन्किएका छन् । जिल्ला अस्पताल खाँदबारीलाई एसजेभिएनले कम्पनीले रु १८ लाख २४ हजारको विभिन्न मेसिन तथा उपकरण खरिद गर्ने जिम्मा दिएसँगै अस्पताल व्यवस्थापन समितिले सामानसमेत खरिद गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । 

जिल्ला अस्पताललाई रु ८६ लाख ३४ हजार मूल्यको विभिन्न उपकरण तथा औजार निःशुल्क हस्तान्तरण गरेकोसमेत जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । अन्य उपकरण तथा औजार प्राइभेट स्वास्थ्य संस्थाका रुपमा चिनिने खाँदबारी नगरपालिकाकै तुम्लिङ्टारमा रहेको मनकामना पोलिक्लिनिकलाई समेत दिइएको छ । 

खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सङ्वासभाका संयोजक सुमन शाक्यले यो विषम परिस्थितिमा आवश्यक उपकरण उपलब्ध गराइ सहयोग पु¥याएकामा कम्पनीलाई धन्यवाद दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्