सिमाक्षेत्रको वैकल्पिक बाटोबाट नेपालतर्फ धमाधम छिर्दै नेपाली र भारतीय नागरिक

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : २६


शिवु खनाल 
सिरियानाका । दाङका साना ठूला गरी २६ वटा नाकाहरू अनिश्चितकालीन बन्द भएपछि गाई, भैँसी तस्कर गर्ने तस्करहरुले वैकल्पिक बाटो प्रयोग गरिरहेका छन् । भारतसँग सीमा जोडिएका दाङको देउखुरी उपत्यकामा पर्ने गढवा र राजपुर गाउँपालिकाअन्र्तगत पर्ने नाकाहरु कोरोना भाइरस (कोभिड– १९) को कारण बन्द भएपछि तस्करहरुले वैकल्पिक बाटो प्रयोग गर्न लागेको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाकाका सन्देश घर्ती मगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नाका बन्द भएपछि दिउँसोको समयमा नाकाका गाउँमा आएर बस्छन् । रात परेपछि वनको वैकल्पिक बाटो प्रयोग गरी भारत जान्छन् र केही दिनपछि भैँसी, राँगा, बाख्रा लगायत पशुचौपाय लिएर आउने गरेका छन् ।’ नाका बन्द नहुँदा खुला सिमानाबाट व्यापार गर्दै आएका तस्करहरुले अहिले नाका बन्द भएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका छन् । ‘भारतसँग सीमा जोडिएका नाकाहरु बन्द भएर के गर्नु ? तस्करहरुले वैकल्पिक बाटो प्रयोग गरी खुल्ला व्यापार गरिराखेका छन् । नाका बन्द भएको के अर्थ ? यसरी हुन्छ कोरोना भाइरसको रोगथाम ? यसको निगरानी कसले गर्ने हो ?’ उहाँले प्रश्न गर्नुभयो ? 

रुपैडिहा नाकाबाट नेपाल छिर्दै ।

यता पटौली, सिरिया, बरुवानाकामा दिनहुँ १० देखि १५ जना भारतीय नागरिकहरु घुम्न भन्दै  नेपालतर्फ आइरहेको नाकाबासीहरुले बताएका छन् । ‘न आइज भन्दा नि मान्दैन । कसैले रोकथाम गर्दैनन् । नेपाल प्रहरीलाई पत्याउँदैनन् । भारतीय नागरिकलाई नेपालमा जान भारतीय एसएसबिले रोकेको छैन । वनको वैकल्पिक बाटो प्रयोग गरी नयाँ नयाँ अनुहार भएका र तस्करहरु दिनहुँ आउने जाने गरेको पाइएको छ । 
यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाकामा पनि दिनहुँ नयाँ नयाँ अनुहार गरेका भारतीय नागरिक नेपाल प्रवेश गरेको स्थानीय पूर्ण रोकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले यो विषयमा दाङ जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजाललाई पनि खबर गरेको छु । नाकामा नयाँ नयाँ अनुहार भएका भारतीय नागरिकहरू प्रवेश गरेका छन् भनेर ।’

सीमा क्षेत्रको खङ्ग्रानाकाबाट नेपाल प्रवेश गर्दै घोराही उपमहानगरपालिकाको रामपुर घर बताउने नागरिक ।

यस्तै भारतबाट नेपाली नागरिकहरू गढवा गाउँपालिका वडा नम्बर २ अन्तरगत पर्ने सालभौरीनाकाको बाटो प्रयोग गरी चिमचिमे, महदेवा हुँदै नेपाल प्रवेश गरेको स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार रातको समयमा भारतबाट सालभौरीनाकाबाट दिनदिनै नयाँ नयाँ अनुहार गरेका नेपाली नागरिहरू पनि प्रवेश गरेका छन् । 

यता भारतीय नागरिकलाई सिमा क्षेत्रबाट स्वतः फिर्ता गर्नुपर्छ नेपाल सरकारले । उनीहरूको निगरानीमा सीमा सुरक्षा बल र जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक चासो लिनुपर्छ, स्थानीय शेरसिङ खड्काले भन्नुभयो ।
 


प्रतिक्रिया दिनुहोस्