चीनको एक दूर मानवबस्तीमा पहिलोपटक भेटिएको कोरोना भाइरसले यतिबेला विश्व जगतलाई नै आक्रान्त पारेको छ ।
कुनै समय पृथ्वीको जल, जमिन, जंगल सर्वत्र प्रशस्त भेटिने डाइनेसर करीब साढे १४ करोड बर्षपछि एकाएक लोप भएर नामोनिशान नै मेटियो । त्यस्तै यतिवेला पृथ्वी मात्र होइन चन्द्रमामा समेत बस्ती बसाल्न सफल मानवजाति नै संकटको घेरामा परिरहेको अनुमान भइरहेको छ ।
प्राकृतिकरुपमा मानव समुदाय सखाप पार्न उत्पन्न भएको जस्तो देखिने खतरनाक प्राणघातक कोरोना कहीँकतै शक्तिराष्ट्रले अरु विरुद्ध परिचालन गर्ने जैविक हतियार त बनाएका होइनन् भन्ने प्रश्न पनि अहिले टडकारो रुपमा देखिएको छ ।
विश्वका २ सय बढी देशमा फैलिएको यो भाइरसले यतिबेला सारा मनुष्य जगतलाई नै त्रसित तथा आतंकित बनाएको छ ।
चिकित्सा विज्ञानलाई ठूलो चुनौती दिँदै मानववस्तीमा आएको यो महामारीको हालसम्म कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन ।
औषधि नै पत्ता नलागेको यो महामारीले विश्वभरमा ५९ हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने ११ लाखभन्दा बढी संक्रमित भएको कुरा विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार कोरोना भाइरसहरुको एउटा समूह हो जसले सुरुमा सामान्य रुघा जस्तै देखिए पनि अन्त्यमा श्वासप्रश्वासमै गम्भीर समस्या उत्पन्न गराई मानिसलाई मृत्युको मुखमा पुराउँछ ।
यसले मानिसमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुनसक्छ ।
यसको उपचारका लागि कुनै पनि भ्याक्सिन अहिलेसम्म पत्ता लाग्नसकेको छैन । तर सुरूवातकै चरणमा भएको यो रोगको उपचार गर्नसकेमा निको हुने बताइएको छ ।
विश्वको स्वास्थ्य क्षेत्रमा अब्बल राष्ट्रहरुलाई समेत नराम्ररी थला पारेको यो रोग नेपालमा पनि विदेशबाट फर्केका व्यक्तिहरुमा देखिन थालेको छ । पछिल्लोपटक भेटिएका ३ जना संक्रमितहरुमध्ये १ जना त झन विदेशबाट आउनेहरुबाट संक्रमित भएका छन् ।
जनावरबाट र मानिसबाट सजिलै मानिसमा सर्न सक्ने खतरनाक सरुवा रोगले यतिवेला विश्वकै टेक्नोलोजीमा अव्वल चीनबाट सुरु भएको यो महामारीले विश्वकै महाशक्ति अमेरिका, इटाली हुँदै नेपालको छिमेकी मुलुक भारतमा समेत आक्रान्त बनाएको छ ।
नेपाल जस्तो विकासोन्मुख देशमा साँच्चिकै यसको महामारी फैलियो भने यो प्रलायाग्निबाट नेपाललाई बचाउन सक्ने कुनै पनि सामथ्र्य नेपालमा छैन ।
त्यसैले यस किसिमको महामारीबाट जोगिन आमनागरिकले निम्न कुराहरुको अनुशासनपूर्वक पालना गर्नुपर्ने देखिन्छ ।
यो एक प्रकारको आयातीत रोग हो
विश्व स्वास्थ्य संगठनकै तथ्यांक हेर्ने हो भने हालसम्म नेपालमा यो भाइरसको संक्रमण बिदेशबाट आएका नागरिकहरुमा मात्र देखिएको छ । त्यसैले यो आयातीत रोग हो । काम बिशेषले छिमेकी मुलुकहरुमा गएर फर्केका मानिसहरुमा संक्रमण देखिएकाले बिदेशबाट आउने नागरिकहरु नै सचेत हुनुपर्ने पहिलो प्राथमिकता हो ।
उपचारका लागि कुनै पनि औषधि पत्ता नलागेको यो रोगबाट उन्मुक्ति पाउन सबैभन्दा प्रभावकारी विधि भनेको मानिसहरू सेल्फ क्वारेन्टाइनमा बस्नु हो ।
नेपाललाई यो संक्रमणबाट जोगाउने हो भने विदेशबाट आएका मानिसहरु तथा अन्य सबै नागरिकहरुले सामाजिक भेटघाट, सभा सम्मेलन एवं अन्य यावत प्रकारका जमघटलाई रोकेर सरकारले भनेझैँ आफ्नै घरमा बस्नु हो ।
सीमानाका पूर्णतः बन्द
विश्वभर मानव समुदायको जैविक शत्रु बनेको कोरोना भाइरसबाट बच्ने जैविक अस्त्र भनेको सिमानाका पूर्णतः बन्द गर्नु हो । नेपालको छिमेकी मुलुक भारत यतिबेला कोरोना भाइरसले आक्रान्त भएका बेला भारतबाट संक्रमित मानिसहरु नेपालमा आएर क्वारेन्टाइनमा बसेनन् भने यसले देशलाई नै बर्बाद पार्न सक्छ ।
त्यसैले भारतबाट नेपालमा आउन खोजेका नेपालीहरुलाई कडा चेकजाँच गरेर नेपाल छिराई १४ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने र भारत लगायतका दोस्रो मुलुकका कुनैपनि नागरिकलाई नेपाल प्रवेशमा पूर्णतः बन्देज गर्न सकेनौ भने यो महामारीबाट हामी जोगिन सक्दैनौ । त्यसैले अब हामीले नेपालमा अत्यावश्यक उडान बाहेक सम्पूर्ण हवाई सेवा, जलमार्ग एवं सडक यातायतबाट आन्तरिक एवं बाह्य सम्पर्कबाट पूर्णतः बन्द गर्नुपर्दछ ।
यदि यसको पालना गर्न नसक्ने हो भने हाम्रो मात्र होइन समग्र मानवजातिकै अस्तित्वमा संकट पर्ने अवस्था नआउला भन्न सकिन्न ।
तीनै तहका सरकारको सचेततापूर्वक परिचालन
नेपालका अधिकांश जनता अझै शिक्षित छैनन् भन्दा पनि हुन्छ । मुख्य पेशा कृषिलाई बनाएर खेतीकिसानीमा लागेका अशिक्षित अधिकांश मानिसहरुले यो रोगका बारेमा सजिलै नबुझ्न सक्छन् । अतः यसका लागि नेपालका तीनवटै तहका सरकारहरु सक्रियतापूर्वक सचेत भएर परिचालित हुन जरुरी छ ।
केन्द्रीय सरकारले केन्द्रीय योजना तर्जुमा गर्ने र प्रदेश र स्थानीय सरकार जनतासँगै युद्धस्तरमा खटेर जनतालाई सचेत गराई द्रुततर गतिमा उपचार गर्ने हो भने यसको नियन्त्रण गर्न सकिन्छ ।
बरु बिकास निर्माणको बजेटले पेट भरौं
झण्डै २८.६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको नेपालमा दैनिक ज्यालादारी गरेर चुलो बाल्ने बर्गका लागि लकडाउनले झनै बिकराल अवस्था निम्त्याउन सक्छ ।
एकातिर महामारीको त्रासले विक्षिप्त गरीब परिवार अर्कोतिर गास, बास र कपासको जोहो गर्न नसक्ने अवस्थाले आक्रान्त छन् । कोरोना भाइरसविरूद्ध जुझ्दाजुझ्दै भोकमरीले अर्को महासंकट निम्त्याउन सक्ने सम्भावना बढेर गएको छ ।
तत्कालका लागि भोकमरी लागि नसकेको भएपनि घरमै बन्दी हुनाका कारण गरिखाने बर्गको चुलो अब धेरैबेर बल्न सक्दैन ।
त्यसैले राष्ट्रमा आउनसक्ने यस्तो प्रकारको महाविपतबाट जोगिन नेपालले छुट्याएको बिकास निर्माणकै बजेटबाट भएपनि ज्याला मजदुरका लागि खाद्यान्न खरिद गरेर भएपनि उनीहरुको पेट पाल्न सरकारले उच्च पहल गर्नुपर्छ ।
विश्वभर अत्यन्तै द्रुततर गतिमा फैलिएको यो भाइरसले मानव जातिलाई संकट पार्ने अवस्थाबाट जोगिने हो भने बिकास निर्माण थप एक बर्ष पछि धकेलिए पनि महामारीबाट बच्न सकिन्छ ।
लकडाउनका कारण एक प्रकारको बन्दी जस्तै बनेकाहरुले राम्रो खाना पाएनन् भने बरु झनै अर्को बिपत्ति आइलाग्ने भएकाले केन्द्रीय सरकार पनि यसतर्फ सचेत हुनुपर्ने देखिन्छ ।