काठमाडौँ । नेपालमा दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण भेटिएसँगै तेस्रो चरणको खतरा बढेको छ।
नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाटै दोस्रो व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। जसलाई दोस्रो चरण मानिन्छ। नेपालभित्रै दोस्रो चरणको व्यक्तिबाट अर्को व्यक्तिलाई कोरोना संक्रमण भयो भने त्यो तेस्रो चरण हुने गर्दछ।
आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकै ३४ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टी भएको हो।
आज कोरोना संक्रमण भेटिएकी कैलालीको ३४ वर्षीया दोस्रो संक्रमित हुन्। उनी संक्रमित व्यक्तिको आफन्तबाटै संक्रमण भएको मन्त्रालयले पुष्टी गरेको छ।
डब्ल्यूएचओले उल्लेख गरेका कोरोना भाइरसका ४ चरण
पहिलो चरण: 'नो केस' : यस चरणमा देश वा क्षेत्रमा कुनै पनि संक्रमणको पुष्टी नभएको अवस्थालाई जनाउँछ। अर्थात एक देशबाट अर्को देशमा गएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटियो भने त्यसलाई पहिलो चरण भनिन्छ।
दोस्रो चरण: 'स्पोराडिक केस' यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन इम्पोर्टेड वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ। अर्थात आफ्नै देशमा आएर संक्रमण पत्ता लगाएका व्यक्तिबाटै अर्को व्यक्तिमा सर्नु भन्ने हुन्छ।
तेस्रो चरणः 'क्लस्टर केस' (समूहगत घटना) डब्लुएचओले कोरोना भाइरसको तेस्रो चरणलाई समूहगत रुपमा देखिने केसलाई लिने गरेको छ । अर्थात त्यस्ता देश जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भुगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई डब्लुएचओले क्लस्टर केसमा राखेको छ।
चौथो चरण : 'कम्युनिटी ट्रान्समिसन' यो सबैभन्दा खतरनाक अवस्था हो। यसलाई महामारीको रुपमा लिने गरिन्छ। यस्तो क्षेत्रमा अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। संक्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन।