कविता | सन्देश पुर्याऊ प्रिया

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ५६


दयाराम दाहाल 

घरबाट ननिस्कनु बाहिर दुश्मन बसेको छ 
आक्रमण गर्न भनी उसले कम्मर कसेको छ 
आफ्नो घर भित्रै बसौं दुश्मनसँग बाँच्नलाई 
आज थोरै कष्ट गरौं भोलिको दिन हाँस्नलाई 

धेरैलाई घाइते पार्दै हाम्रोतिर बढेको छ 
सानो ठूलो भन्दैन उ असाध्यै सडेको छ 
धनी गरीब नभनेर बराबरी ढलाउँछ 
एकबारको जिन्दगी यो अनाहकमा जलाउँछ 

के गाउँ, के शहर उसको ताण्डव चलिराछ 
स्वर्ग जस्तो संसारमा काल अग्नि जलिराछ 
धैर्य गरौं, विवेक पुर्याऔं चाँडै जित्न थाल्छौं हामी 
दाह्रा नङ्ग्रा उखेलेर दुश्मनलाई ढाल्छौ हामी

अहिलेलाई हाम्रो बीचमा निश्चित दुरी कायम गरौं
तिमी त्यतै, म यतै घरभित्र आराम गरौं
मन नदुखाऊ मेरी प्रिया भेट भएन भनी
जिन्दगीलाई बचाउनु छ भोलि भेट्न पनि 

यो सन्देश पुर्याऊ प्रिया साथीसङ्गी सबैमाझ
सावधानी अपनाएर घरभित्रै बसौं आज ।

दाहाल वरिष्ठ चलचित्र निर्देशक हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्