क्यानबरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको पछाडी चीनको वेट मार्केट (मासु बजार)को हात रहेको बताएका छन्।
प्रधानमन्त्री मोरिसनले शुक्रबार संयुक्त राष्ट्र संघलाई चिनियाँ मार्केट विरुद्ध कारबाही गर्न अपील समेत गरे।
मोरिसनले चीनका वेट मार्केट विश्वका बाँकी मानिसहरूको स्वास्थ्यको लागि 'गम्भीर खतरा'रहेको बताए।
प्रधानमन्त्रीले मोरिसनले भने, 'वेट मार्केट विश्वका लागि खतरा छन्। हामी सबैलाई थाहा छकी यो भाइरसको उत्पत्ति चीनमा भएको हो। विश्व स्वास्थ्य संगठनले यसको बारेमा केहि गर्नु पर्छ। विश्वव्यापी रूपमा सबै मानिसहरुको स्वास्थ्यको सवाल बनेको छ।'
प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई मासु बजारमा ध्यान दिन समेत आग्रह गरे।
मोरिसनले अष्ट्रेलियामा वेट मार्केट नरहेको भन्दै यस किसिमको मासु आयात गर्ने अन्य देशले समेत सतर्क रहनुपर्ने धारणा राखे।
अष्ट्रेलियाका प्रधानमन्त्री जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरसको पछाडी चिन जिम्मेवार रहेको भन्दै उक्त भाइरसलाई 'चिनियाँ भाइरस' नाम दिने गरेका छन्।
तर,चीनले उक्त कुरामा आपत्ति जनाउँदै आएको छ।
विश्व स्वास्थ्य संगठनले भने अफ्रिकालाई इबोला भाइरसका लागि जिम्मेवार नठहराए जस्तै चीनलाई कोरोनाका लागि दोष दिन नमिल्ने जनाएको छ।
गत बर्षको नोभेम्वरमा चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस संक्रमणको घटना फेला परेको थियो।
वुहानको मासु बजारमा पैदा भएको यो भाइरस जिवजन्तुबाट मानिसमा आएको बताइन्छ।
संक्रमण फैलिएपछि वुहानको समुद्री थोक बजार जनवरीमा बन्द गरिएको थियो।