सीमामा अलपत्र नेपालीलाई विशेष प्रबन्ध गर्नु आवश्यक छ : नेता बडू

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ३३


नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडूले सीमा नाकामा पुगेर पनि घर आउन नपाई अलपत्र परेका नेपालीलाई सरकारले फरक र विशेष प्रबन्ध गर्नुपर्ने माग गर्नुभएको छ।

नेता बडूले दार्चुला सीमानाकामा विगत एक साताभन्दा बढी समयदेखि अलपत्र परेका दार्चुलाका तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, बाजुरा, डोटी, अछामलगायत जिल्लाका सयौँ नेपाली विचल्लीमा परेको अवस्थाप्रति सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

दार्चुलाको सीमा नाकामा अलपत्र परेका नेपाली स्वदेश आउन नपाएपछि भारत सरकारको स्थानीय प्रशासनको सहयोगमा तत्कालका लागि अस्थायी शिविरमा रहेका र त्यहाँ ठूलो सङ्ख्यामा सँगै बस्नुपर्ने बाध्यताका कारण सङ्क्रमणको जोखिमको सम्भावना झनै बढाएको नेता बडूले जानकारी दिनुभयो।

व्यवस्थितरूपमा नेपाल प्रवेश गर्न नपाएका कारण जानकारी र अभिलेख बिना नै महाकाली नदीमा पौडी खेलेर, तुइन र ट्युुबबाट ज्यान जोखिममा राखी आउनेको सङ्ख्या  निरन्तर बढिरहेको उहाँले बताउनुभयो । 

उहाँले स्थानीय तहहरुमा सुरक्षित क्वारेन्टाइन र आवश्यक स्वास्थ्यकर्मी तथा उनीहरुको व्यक्तिगत सुरक्षा उपकरण तथा स्वास्थ्य परीक्षणका आवश्यक सबै उपकरणको व्यवस्थाका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहहरुमा पर्याप्त साधन स्रोत तथा आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । 

यस प्रयोजनका लागि खर्च हुने गरी नेता बडूले आफूले पाउने पारिश्रमिकको १५ दिन बराबरको रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषको केन्द्रीय खातामा सहयोग गर्ने निर्णय काँग्रेस संसदीय दलमार्फत घोषणा भइसकेको र १५ दिनको पारिश्रमिक थप गरी एक महिनाको पारिश्रमिक रकम सोही कोषमा सहयोग गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ।

उहाँले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रकम रु छ करोडमध्ये खर्च हुन बाँकी रकम आजैका मितिदेखि उल्लेखित कार्यमा प्रयोग हुने गरी कोषमा जम्मा गर्नसमेत आग्रह गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्