बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे आज मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ । उहाँहरुबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले भइरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री पोख्रेलले मापदण्डअनुसारका क्वारेन्टाइन निमार्ण गर्न, क्वारेन्टाइनमा बसेकालाई गुणस्तरीय खानपिनको व्यवस्थापन गर्न र स्थानीयस्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्धारबाट वितरण गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराउनुभएको थियो । उहाँहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभएको थियोे ।
त्यसपछि मुख्यमन्त्री पोख्रेलले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिनुभएको थियो । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताउनुभयो । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्नेबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । मुख्यमन्त्रीले दाङ र बाँकेबाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्नेबित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकाका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्णरुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताउनुभयो । प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्नको लागि यो भिडियो संवाद थालिएको हो । यसअघि उपमहानगरका प्रमुख र जिल्ला सदरमुकामका नगरपालिका प्रमुखसँग भिडियो संवाद भइसकेको छ ।