पोखरामा कोरोना परीक्षणकाण्डः मुख्यमन्त्री र स्वास्थ्य निर्देशनालयकै वेवसाइटमै थियो यस्तो

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ३८


काठमाडौं । शुक्रबार दिउँसो खबर आयो– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा एक जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखियो। 

उक्त कुरा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री किरण गुरुङले पुष्टि गर्दै भन्नुभयो, ‘पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ।’

मन्त्रीले नै सूचना दिइसकेपछि प्रायजसो अनलाइन मिडियाहरुले समाचार ब्रेक गरे– ‘कास्कीमा कोरोना संक्रमित सातौं व्यक्ति भेटिए।’ 

तर, दिउँसो ४ः१५ मा स्वास्थ्य मन्त्रालयले फेसबुक लाइभमार्फत् दैनिक गरिरहेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पोखराको केस नेगेटिभ भएको बताउनुभयो।

उहाँले पोखरामा गरिएको बिरामीको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ देखिएको पनि बताउनुभयो। 

पोखरामा परीक्षण गर्दा पनि पोजेटिभ केश नदेखिएको भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेशस्थित स्वास्थ्य निर्देशनालयका अधिकारीहरुले बताइरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयको वेवसाइटमा भने नेपालमा संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले नेपालमा ६ जना मात्रै कोरोनाभाइरस संक्रमणका बिरामी छन् भनिरहँदा गण्डकी प्रदेश सरकारले नेपालमा संक्रमितको संख्या ७ जना किन भन्यो? यदि पोखरामा परीक्षण गर्दा पोजेटिभ नदेखिएको भए मुख्यमन्त्री कार्यालयकै वेवसाइट र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ७ जना भनेर किन अपडेट गथ्र्यो?

अहिले भने दुवै वेवसाइटबाट उक्त विवरण हटाइएको छ।

पोखरामा पोजेटिभ, टेकुमा नेगेटिभ किन भयो यस्तो?

सरकारले पोखरामा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो भनेर भन्न चाहिरहेको छैन। त्यो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको अस्पष्ट जवाफले पनि संकेत गरेको छ। आखिर पोखरामा पोजेटिभ देखिएको थियो भनेर बाहिर भन्दा सरकारलाई के फरक पर्छ?

अब यहाँ अर्को प्रश्न उब्जिएको छ, पोखरामा पोजेटिभ देखिएको केस काठमाडौंमा कसरी नेगेटिभ देखियो?

यसको जवाफ सम्बन्धित अधिकारीहरुले देलान्। तर, चीनबाट भर्खरै ल्याइएका मेडिकल सामग्री निकै महंगो, अपूरो र नक्कली समेत भनेर विवाद उठिरहेका बेला जो कोहीलाई पनि लाग्नु स्वभाविकै हो– कतै पोखराको ल्यावमै केही कमजोरी त छैन? 

नत्र एउटै केस एक ठाउँमा परीक्षण गर्दा पोजेटिभ र अर्को ठाउँमा नेगेटिभ कसरी हुन्छ? त्यसैले सरकार अहिले पोखरामा पोजेटिभ केस देखिएकै थिएन भन्ने लाइनमा उभिएको काठमाडौंदेखि पोखरासम्मका सरकारी अधिकारीहरुको भनाईबाट बुझ्न सकिन्छ।

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट गत सातामात्रै ल्याइएका स्वास्थ्य उपकरणमध्ये तत्काल परीक्षण पत्ता लगाउने कीटको विश्वसनीयता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले नै प्रयोग नगर्न निर्देशन जारी गरेको थियो। 

सरकारले त्यस्ता ७० हजार किट ५ करोड बढी खर्च गरेर किनेको थियो। त्यस्तै, पीपीई पनि पूरै सेट नभएको र गुणस्तरीय नभएको भन्दै डाक्टरहरुले नै प्रयोग गर्न नसकिने बताइसकेका छन्। यस्तो बेला ती सामानसँगै किनेर ल्याई पोखरामा स्थापना गरिएको ल्याबले सही रिपोर्ट दिदैन भने उक्त ल्यावको पनि ‘वैधता’ के हुने हो? 

प्रवक्ताको अस्पष्ट जवाफ

उसो त प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि सिधा जवाफ नदिएर गोलमोटल जवाफ दिनुभएको छ।

उहाँले पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशाला भएकाले त्यहाँको मेसिनको बैधता र प्रक्रियामा केही कुरा उठाउनुभएको छ। ‘हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ। त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ,’ उहाँले भन्नुभयो, ‘भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि (पुनपरीक्षण) गर्नुपर्ने हुन्छ।’ 

प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा बोलेको कुरा जस्ताको तस्तै

यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ। त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ। केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।

मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो ।

यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि (पुनपरीक्षण) गर्नुपर्ने हुन्छ ।

त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।

यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ ।

यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

प्रेस काउन्सिल अध्यक्ष भन्छन्- 'सरकारले भ्रम फैलाउने अनि मिडियालाई दोष?' 

सात जना संक्रमित भन्दै सरकार आफै भ्रम फैलाउने अनि मिडियालाई मात्रै दोष ? भनेर प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा उल्लेख गरिएको विवरण र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको वेवसाइटमा उल्लेख गरिएको विवरण स्क्रीनसट गरी फेसबुकवालमा पोष्ट गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्