पोखरामा कोरोना संक्रमित भेटिएको छैन : प्रवक्ता डा. देवकोटा

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ५८


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गर्नुभएको हो।

उहाँले विभिन्न संञ्चारमाध्यममा पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनी आएको समाचार आएको उल्लेख गर्देै उहाँले निको भएको सहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पार्नुभएको हो।

उहाँले भन्नुभयो “हालसम्म संक्रमित केस जम्मा ५ वटा हो । एउटा निको भएर गईसकेको बाहेक। निको भएको सहित ६ वटा हो। यो ५ वटामा  आइसोलेनमा उपचार भईरहको टेकूमा २ वटा , बाग्लुङमा २ वटा र धनगढीमा १ वटा हो।”

प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नया मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुन परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो “अहिले पोखराको हालसम्म कुनैपनि पोजेटिभ केस छैन। अहिले हामीले प्रदेशमा विस्तार गर्यौ। प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ। केही कुराहरु त्यहाँ प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ। संख्या यथेष्ट रुपमा गरेर पोजेटिभ नेगेटिभ को संख्याहरु आएर अन्त पनि भेरिफाई भयो भने यो सिस्टम ठिक छ भनेर भन्न सकिन्छ। यो नर्मल फेनोमेना हो। भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेण्टहरु मिल्ने कुराहरुलाई हेर्दा केही नमुनाहरु चाहीँ हामीले ‘रि’ गर्नुपर्ने हुन्छ। हाम्रो नतिजा कंक्रिड होस् भन्नका लागि हो। यो सधैभरी गर्नुपर्दैन। केही समयका लागि हुन्छ। कुनै केस शंकास्पद भयो भने त्यहाँ पनि हुन्छ यहाँ पनि रिपिट हुन्छ। थप नमुना लिईन्छ । यो प्रोसेस भईसकेपछि मात्रै हामीले रिजल्ट प्रकाशित गर्छौ त्यो हिसाबले आजसम्म हालसम्म पोखरामा पोजेटिभ नआएको स्थिति छ।”

प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो छैटौ केसको कन्ट्रयाक्ट टेसिङ सुरु भएको पनि उहाँले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको। प्रतिदिन सय भन्दा बढीका दरले टेकूमा नमुना परीक्षण गर्न थालिएको छ।

काठमाण्डौ बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ। धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९ , सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमुना परीक्षण गरिएको हो।

सबै परीक्षण नेगेटिभ आएका छन्। बुटबलमा भने नमुना परीक्षणका लागि मेसिन जडान कार्य सुरु भईरहेको छ । भक्तपुरका खरिपाटी क्वारेन्टाईनमा रहेका सबै  ९६ जना तथा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको छ।

कोभिड १९ को संभावित संक्रमणको आंशकामा उपत्यकामा १५  र उपत्यका बाहिर १०५ गरी मुलुकभर १ सय २० जना आइसोलेसनमा उपचारत छन्।

मन्त्रालयको एप्समा ५ हजार ६ सय २६ जनाले आफ्नो व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये १ सय ७ जना रेड जोनमा रहेकाले उनीहरुलाई इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत सम्पर्क गरिने डाक्टर देवकोटाले बताउनुभयो।

रेड जोनमा रहेकाको ट्राभल हिस्ट्री लगायत हेरेर नमुना परीक्षण गरिने छ। एप्समा भरिएको विवरण र सम्पर्क ठेगाना कतिपयको गलत भएकाले सही विवरण भरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

डाक्टर देवकोटाले पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेक अन्य विरामीलाई इमरजेन्सी सेवा बाट बञ्चित नगर्न पनि सबै अस्पताललाईलाई आग्रह गर्नुभयो। 


प्रतिक्रिया दिनुहोस्