काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट शंकास्पद संक्रमित व्यक्ति फेला परेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ।
ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाडौं पठाइएको प्रदेश सरकारले जनाएको छ ।
स्रोतका अनुसार पोखरामा पोजेटिभ देखिएपछि उक्त नमूना दोस्रो परीक्षणका लागि काठमाडौं पठाइएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दोस्रो र तेस्रो परीक्षण गरिने जनाइएको छ।
दोस्रो र तेस्रो परीक्षणमा पनि पोजेटिभ देखिए कोरोनाभाइरस भएको सुनिश्चित गरिने तर दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिए मेसिनमै शंका गर्नुपर्ने स्रोतको भनाई छ।
कोरोनाभाइरस परीक्षणका लागि हरेक प्रदेशमा ल्याव स्थापना गर्ने योजनाअनुसार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खरमात्रै उक्त ल्याव स्थापना गरिएको थियो।
सरकारले गत सातामात्रै चीनबाट विभिन्न स्वास्थ्य सामग्रीहरु खरिद गरेर ल्याएपछि नै पोखरासहित हेटौंडा, धरान, वुटवल, सुर्खेत र धनगढीमा कोरोनाभाइरस परीक्षण गर्ने ल्यावहरु स्थापना गरिएको छ।
उसो त चीनबाट ल्याएका सामग्रीहरुको विषयमा विवाद बढ्दै गएपछि सामान खरिद गर्ने ओम्नी समूहसँगको सम्झौता नै खारेज गरिएको छ।