काठमाडौं । नेपाल चलचित्र क्षेत्रमा देशप्रेमी अभिनेताको छवि बनाएका नवल खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै खुला पत्र लेख्नुभएको छ।
प्रधानमन्त्री ओलीसँगको सेल्फी, अध्यक्ष प्रचण्डसँगको तस्बिर र ओली र प्रचण्डले अभिवादन गरेका छुट्टाछुट्टै तीनवटा तस्बिरसहित खड्काले दुबैलाई सम्बोधन गरी फेसबुकमार्फत् खुला पत्र लेख्नुभएको हो।
विश्वका मानवजातिले आफन्तहरुको दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न नसकिने भन्दै खड्काले देश पीडामा परेको बेला भ्रष्टाचार गर्नेहरु मानव नभएको बताउनुभएको छ। भ्रष्ट व्यक्तिहरुलाई वालुटावारले पोसेर धुम्बाराही र पेरिसडाँडाले संरक्षण गर्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाटतिर जाने खड्काको भनाई छ।
दुबै अध्यक्षलाई समय थोरै बाँकी रहेको भन्दै खड्काले शासक हैन, जनताको सेवक बन्न र भ्रष्टहरुलाई कार्बाही गरेर यो युगको मानव मात्रै हैन महामानव बनिदिन पनि आग्रह गर्नुभएको छ।
हेर्नुहोस् खुला पत्रको पूर्णपाठ-
खुलापत्र
सम्माननीय प्रम ओलीज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू
नमस्कार
सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस्।
'भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ' भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला। तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघिसक्यो, देख्नु भयो होला।
बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन। जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नुभएको छैन तर हामी स्पष्ट नै छौं।
नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन। राक्षसहरुमा त अलिकति विवेक हुन्छ। सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन। तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ।
तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्बाराही तथा पेरिसडाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाटतर्फ लाग्छ।
हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरुप्रति जनताको पूरै मोहभङ्ग हुनेछ। इतिहासमा जुन भूमिका खेलेर आउनुभएको छ ती सबै नामिटानामेट हुनेछन्। यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ।
हामी चलचित्रकर्मीले बिशिष्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं। तर तपाईंहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ। हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर। तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिँदा तपाईहरु शव्दजाल र मूक भएर बस्न मिल्दैन।
त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनुपर्ने थियो। के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो। यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन। यसर्थ मेरो अनुरोध छ आसनभन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस्।
ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्द्धमृतप्रति जनताको कुनै विश्वास छैन। तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईंहरुले हेर्नु भएको छ। तर टेर्नु भएको छैन।
अब पनि टेर्नु भएन भने के हुन्छ? विश्वका कैयन् भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ। ईतिहास साक्षी छ।
आदरणीय नेतागण कैयन् अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ। मात्रै सम्झाउन खोजेको हुँ। तसर्थ समृद्ध नेपाल सुखी र खुसी नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुने गरि काम गरौं। भ्रष्टाचार रोकौं। संविधान संशोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भ्रष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ। शासक हैन, जनताको सेवक बनौं, थोरै समय बाँकी छ। यहाँहरु माथि अझै पनि विश्वास रहेको निवेदन गर्दछु– यो युगको मानव मात्रै हैन महामानव बनिदिनुस्, नेपालीको यही चाहना छ।
चलचित्रकर्मी नवल खड्का