तातोपानी र रसुवागढी नाका अझै नखुल्ने

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ०३


काठमाडौं । सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

तर, नेपालका तर्फबाट सञ्चालनमा तयारी पूरा हुन नसक्दा दुवै नाका खुल्न ढिला हुने भएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै नाका खुलाउने चीनसँग समझदारी बनेको थियो ।

तर, नाकामा स्वास्थ्य परीक्षण गर्न आवश्यक पूर्वाधार खडा हुन सकेको छैन । क्वारेन्टाइन स्थल निर्माण गर्न स्थानीय निकायले ढिलाइ गरेको छ । कृषिजन्य वस्तुको परीक्षण गर्न पूर्वाधार निर्माणको कामसमेत भएको छैन । 
-आर्थिक अभियान दैनिक


प्रतिक्रिया दिनुहोस्