२१ सय सैनिक क्वारेन्टाइनमा, ३९ जना आइसोलेसनमा

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : २८


काठमाडौं । जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन् ।

कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको जंगीअड्डाले जनाएको छ । उनीहरू घर बिदा सकेर फर्किएका, तालिम सकाएका र कोही विदेशबाट फर्किएकाहरू हुन् । क्वारेन्टाइनमा बसेको १४ दिनपछि मात्र उनीहरूलाई सेनाको अर्को टोलीसँग मिसाइनेछ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्वारेन्टाइन र आइसोलेसनमा रहेका सैनिक अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । ‘आइसोलेसनमा रहेका केही सैनिक अधिकारीलाई सामान्य रूघाखोकी छ’, प्रवक्ता पाण्डेले भने, ‘हामीले कोरोना भाइरस संक्रमणको जोखिम नहोस् भनेर क्वारेन्टाइन र आइसोलेसनमा राखेका छौं । सबैको अवस्थामा सामान्य छ ।’

मध्य पृतनामा ४, मध्यपश्चिम पृतनामा १८, उत्तरपश्चिम अनि सुदूरपश्चिम पृतनामा ३–३ र उपत्यका पृतनामा ११ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरू ३९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जंगीअड्डाले जनाएको छ । नेपाली सेनाले आठवटै पृतनामा ५ सय ६ वटा आइसोलेसन कक्ष बनाएको छ । तीमध्ये सबैभन्दा बढी मध्य पृतनामा ८४ बेड क्षमताको आइसोलेसन कक्ष छ ।

यस्तै, पूर्वी पृतनामा १ सय ९९, मध्यपूर्वी पृतनामा १ सय ९५ र मध्य पृतनामा ४ सय ६६ जना क्वारेन्टाइनमा छन् । पश्चिम पृतनामा २ सय ८८, मध्यपश्चिम पृतनामा १ सय २९, उत्तरपश्चिम पृतनामा ३ सय ६४, सुदूरपश्चिम पृतनामा २ सय ३ र उपत्यका पृतनामा ३ सय १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सेनाले उपत्यकासहित आठवटै पृतनामा ४ हजार २ सय ९० बेड क्षमताको क्वारेन्टाइन बनाएको छ ।

रुघाखोकी र ज्वरो देखिएपछि केही दिनदेखि आइसोलेसनमा राखिएकी एक सैनिक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएका पतिको सम्पर्कमा रहेकी उनलाई ज्वरो आएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनलाई सेनाले आइसोलेसनमा राखेको थियो । कोरोना संक्रमण नदेखिएपछि उनको अवस्था सामान्य रहेको सैनिक स्रोतले जनाएको छ । जंगीअड्डाले भीड नहोस् भनेर झण्डै आधाजसो फौजलाई घरबाट काम गर्न भनेको छ ।

सेनाको ब्यारेक हाताभित्रका वासस्थानमा खाटको दूरी कम्तीमा एक मिटर फरकमा राख्ने व्यवस्था मिलाइएको छ । अनावश्यक भेटघाट र गतिविधिमा रोक लगाइएको छ । ब्यारेक बाहिर हुने सबै तालिम बन्द गरिएको छ ।

-अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस्