काठमाडौं । काठमाडौं प्रेस डटकमबाट समाचार डिलिट प्रकरणमा साइट डेपलपर कम्पनी शिरान टेक्नोलोजिज प्रालिले माफी मागेको छ । आफ्नो प्राविधिक टिमले गलत सूचनाका आधारमा समाचार डिलिट गरेको स्वीकार्दै उसले माफी मागेको हो ।
शिरानटेकले विज्ञप्ति जारी गरेर गल्ती स्वीकार्दै माफी मागेको हो । ११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएको र १०० भन्दा बढी न्युजपोर्टलहरुको सिएमएस निर्माणदेखि व्यवस्थापन गर्दै आएको बताउँदै यो अवधिमा यस्तो प्रकारको समस्या पहिलोपटक भोगेको विज्ञप्तिमा उल्लेख छ । टेक्नोलोजिजका अध्यक्ष विश्वास ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंप्रेस डटकममा १८ चैतमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार १९ चैतमा केही समयका लागि वेवसाइटबाट हटेको अनपेक्षित घटनाप्रति हामी माफी माग्न चाहन्छौं ।’
शिरानले १८ चैतमा काठमाडौं प्रेसले बिनासन्दर्भ आफ्नो भगिनी संस्था इसेवालाई समेत जोडेर समाचार प्रकासित गरेको र सो समाचार प्रकाशित भएपछि भोलिपल्ट, १९ चैतमा अनावश्यक रुपमा इसेवालाई नजोड्न आग्रह गर्दै सम्पादक गोविन्द परियारसँग संवाद गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । संवाद सकारात्मक रहेको भएपनि गलत सूचनाका कारण शिरान टेक्नोलोजिजको प्राविधिक टीमले न्युजपोर्टलबाट उक्त समाचार हटाएको छानविनका क्रममा पाइएको सिरानले दाबी गरेको छ ।
‘देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले वर्क फर्म होमबाट काम गरिरहेको छ । अहिलेको यो विषम परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रादन हुँदा गम्भीर त्रुटि हुन गएको हामीले पायौं’, शिरानले विज्ञप्तिमा भनेको छ । काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले सिस्टमबाट समाचार हटेको जानकारी सिरान टेक्नोलोजिजको व्यवस्थापनलाई दिनासाथ फेरि प्राविधिक टिमलाई भनेर त्यो समाचार जस्ताको तस्तै उही रुपमा प्रकाशित हुने वातावरण समेत तयार गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘एउटा जिम्मेवार कम्पनीका रुपमा हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यस्ता किसिमका त्रुटि दोहोरिन नदिन नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधार लगायतका संयन्त्र निर्माण गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।