उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा मुद्दा

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ३ : २२


काठमाडौँ। कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

उपप्रधानमन्त्री तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललगायतका विरुद्ध अख्तियारमा मुद्दा परेको हो। 

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा अनियमितता भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार अख्तियारमा उजुरी दिनुभएको हो। 

उहाँले उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकहरूलाई विपक्षी बनाएर उजुरी दर्ता गराउनुभएको हो।

ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यको सामान ल्याउने सम्झौता गरेको थियो । १० प्रतिशत सामान आइसकेपछि त्यसमा अनियमितता भएको भन्दै विरोध भएपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्