घरभित्रै बस्नुहोला, घर–घरमा खाद्यान्न उपलब्ध गराउँछु : मेयर केसी

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १२ : २३


शिवु खनाल
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले पहिलो चरणको राहतस्वरुप खाद्यान्न वितरण कार्यक्रम सुरु गरेको छ । वडाअन्र्तगत क्षेत्रभित्र रहेका अति विपन्न घरपरिवारलाई वडाको विपद् व्यवस्थापन कोषबाट पाँच लाख बराबरको खाद्यान्न वितरण गर्न थालिएको वडाध्यक्ष बाबुरा चौधरीले जानकारी दिनुभयो । 

वडाध्यक्ष चौधरीले भन्नुभयो, ‘पहिलो चरणमा वडा कार्यालयको विपद् व्यवस्थापन कोषबाट पाँच लाख बजेट छुट्याएको छु । वडाअन्र्तगत क्षेत्रभित्र रहेका ७२ जना अति विपन्न घरपरिवालाई ८० क्वीन्टल चामल, २ सय १० लिटर खाने तेल, २ सय ७२ किलो नुन राहतस्वरुप वितरण गर्न लागेका छौँ ।’

विहीवार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्बासे, वडाध्यक्ष बाबुराम चौधरी, वडाका जनप्रतिनिहरुको संयुक्त सहभागितामा वडाअन्र्तगतका अति विपन्न घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो । खाद्यान्न वितरण गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिकाका १ देखि ९ नम्बर वडाका नगरबासीहरुको घरमा खाद्यान्नको अभाव हुन नदिने बताउनुभयो ।
 
उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले जनतालाई मर्न दिँदैन । यो विपद्को बेला सरकार जनतासँगै रहने छ । हामीले विकास निर्माणको बजेटबाट भएपनि जनतालाई घर–घरमा खाद्यान्न उपलब्ध गराउछौँ ।’ उहाँले थप्नुभयो, ‘खाद्यान्न बाहेक अन्य विषयमा पनि कुनै समस्या परे लमही नगरपालिकालाई खबर गर्नुस् । हामी जनताको घर–घरमा खाद्यान्न उपलब्ध गराउँछौँ ।’


 


प्रतिक्रिया दिनुहोस्