लकडाउनमा रगतको अभाव, रक्तदान विशेष अभियानको थालनी

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ९ : ४०


दाङ । जिल्लामा रगतको अभाव देखिएपछि रक्तदान विशेष अभियानको थालनी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा भएको बैठकमा रगत अभाव भएको कुरा आएपछि रक्तदान विशेष अभियानको थालनी गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य इन्द्रजीत थारुले रगत दिएर अभियानको शुरुवात गर्नुभएको छ । पहिलो दिन पत्रकार नरेन्द्र केसीले पनि रगत दिनुभएको छ । जिल्लामा रगतको अभाव हुन नदिन यसप्रकारको विशेष अभियान थालनी गरिएको बताइएको छ ।

भोलिदेखि मोबाइल रक्तदान अभियान चलाइने भएको छ । जहाँबाट रक्तदाताको फोन आउँछ, उहीं गएर रगत लिइने बताइएको छ । नेकपानिकट अनेरास्ववियूले रक्तदानका लागि झण्डै ५० जनाको लिष्ट बनाइसकेको अनेरास्ववियू दाङका संयोजक जंग रोकाले जानकारी दिनुभयो ।

पछिल्लो एक महिनाको अवधिमा दाङमा रक्तदान नभएकोले रगतको अभाव देखिएको हो । लकडाउन शुरु भएपछि त झनै रक्तदान गर्ने वातावरण नभएकाले रगतको अभाव झन जटिल बनेको थियो । रक्तसञ्चार सेवा केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेले रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न रक्तदान विशेष अभियान चलाइएको बताउनु भयो । उहाँले रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीं पुगेर रगत संकलन गर्न प्राविधिक टोली तयार रहेको जानकारी दिनुभयो । मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, अनिमियाका विरामीहरुलाई धेरै रगत चाहिने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस्