मिडिया सामग्री अवैधरुपमा हटाइएकोमा पत्रकार महासंघका अध्यक्ष यसो भन्छन्

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : ४७


काठमाडौं । काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार सामग्रीलाई त्यसकै प्राविधिक पाटो हेर्ने सिरान टेक्नोलोजिजले डिलिट गरेको कुरा सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पनि मुख खोल्नुभएको छ । उहाँले अवैधरुपमा मिडिया सामग्री हटाउन लगाउनु निन्दनीय भएको बताउनु भएको छ ।

आफ्नो फेसबुकमा अध्यक्ष आचार्यले भन्नुभएको छ, ‘नेपालमा विद्यमान कानून अनुसार स्थापित मिडियामा आएका समाचार सामग्रीबारे चित्त नबुझे सम्बन्धित मिडियाबाटै खण्डन गर्ने, पत्रकार आचारसंहिताबमोजिम प्रेस काउन्सिलमा उजुरी गर्ने तथा अदालतमा कारवाहीका लागि निवेदन दिने कानूनी बाटो खुला हुँदाहुँदै राज्यका महत्वपूर्ण निकायका जिम्मेवार व्यक्ति र ती निकटहरुबाट संकटमा अनेकौं जोखिमसँग जुध्दै जनतालाई सही सूचना प्रवाह र जनताका आवाज सार्वजनिक गरिरहेका मिडियाकर्मीमाथि आक्रमणका धम्की आउनु, अबैधरुपमा मिडियाका सामग्री हटाउन लगाउनु तथा नागरिकका संबैधानिक र कानूनी अधिकारलाई नजरअन्दाज गर्नु जस्ता कार्य निन्दनीय त हुन् नै यी नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रसँग नमिल्ने कार्य हुन् ।’ 

अध्यक्ष आचार्यले प्रश्न गर्नुभएको छ, ‘संकटमा नागरिक अधिकार खोसेर निरंकुश सत्ता चलाउने तत्कालीन राजा र उनका अनुयायीलाई पछारेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका नेताहरुसँग लोकतान्त्रिक व्यवहार र जनपक्षीय निर्णयको अपेक्षा गर्नु कुनै अपराध हो र ?’

स्वास्थ्य सामग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका आइटीविज्ञ असगर अली लगायतको संलग्नता रहेको भन्ने समाचार काठमाडौं प्रेसले प्रकाशित गरेको थियो । उक्त समाचार हटाउन बारम्बार भनिएको तर सम्पादकीय टिमले नमानेपछि काडमाडौं प्रेसको प्राविधिक पक्ष हेर्दै आएको सिरान टेक्नोलोजिजमार्फत उक्त सामग्री हटाइएको आरोप काठमाडौं प्रेसले लगाएको छ । सिरान टेक्नोलोजिजमा आइटीविज्ञ अलीसहितको शेयर रहेको समाचार सार्वजनिक भएका थिए ।
 


प्रतिक्रिया दिनुहोस्