प्रधानमन्त्रीलाई खुला पत्रः कि केही थाहा नपाएर बाँच्न दिनुहोस्, कि भ्रष्टहरुको घाँटी निमोठ्नुस्

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ३७


सम्माननीय प्रधानमन्त्री ज्यू!

यो बेला तपाईंलाई पत्र नलेख्नुपर्ने हो। तर, त्यस्तै भो– लेख्नैपर्ने भयो।

एकातिर तपाईं अस्वस्थ हुनुहुन्छ– मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभका लागि तपाईंले गर्नुपर्ने आराम खोसिएको छ।

अर्कोतिर सारा विश्व नै कोरोनाभाइरस नामको डरलाग्दो जीवाणुको आतंकले हैरान छ। विश्व नै डगमगाएको बेला हाम्रो देश कसरी अछूतो हुन सक्थ्यो र? अहिले त्यहीँ कोरोनाको आतंकले सारा देश बन्द छ। सारा दुनियाँ दुई चार महिनापछि ज्यूँदो भइन्छ कि भइन्न भन्ने चिन्ताले आतंकित छन्।

प्रधानमन्त्रीज्यू,

यस्तो बेला तपाईंको विशेष निर्देशन र पहलमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनबाट तत्काल स्वास्थ्य सामग्रीहरु ल्याउने काम भयो। दुःखको कुरा– सामान नेपालको त्रिभुवन विमानस्थलमा खस्न नपाउँदै सामान खरिद प्रक्रियाका विषयमा विवाद छताछुल्ल भयो। कमिसनको खेल भएको, उही सामान चीनले किन्दा सस्तो, नेपालले किन्दा किन दोब्बर महंगो भयो भनेर सबैतिरबाट प्रश्न उठ्यो। सायद तपाईंले मिडिया, सामाजिक सञ्जाल र मेडिकल सामान खरिदसँग जोडिएका व्यक्ति तथा संस्थाहरुका कुरा सुन्नुभएकै होला।

अस्ति ल्याइएका सामान हिजो मात्रै देशका विभिन्न भागमा वितरण भयो। वितरण गर्दागर्दै के जाती नामको किट नक्कली पर्यो भन्दै ठूल्ठूला मान्छेहरु नै भनिरहेका छन्। मिडियाले लेखिरहेका छन्। मानिसको जीवनसँग जोडिएको स्वास्थ्य चेकजाँच गर्ने ‘किट’ नै कस्तोरी नक्कली पर्यो प्रधानमन्त्री ज्यू? 

मिडियामा समाचार आइसक्यो– ‘कमिसनको खेलमा निकै सस्तोमा ल्याउन मिल्ने सामानलाई दोब्बर मूल्यमा किनियो।’ ‘प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीकै छोराहरुको सेटिङमा ठेक्का मिलाइयो।’ ‘दुई महिनासम्म टेन्डर प्रक्रिया अलपत्र पारेर लकडाउनपछि प्रक्रिया रद्ध गरी आफ्नालाई खरिद गर्न सम्झौता गरियो।’

प्रधानमन्त्रीज्यू, कि यस्तो ‘समाचार लेख्ने’, ‘अफवाह फैलाउने’हरुलाई कार्बाही गर्नुस् कि मान्छेको जीवन रक्षाका लागि दिनरात नभनी काम गर्ने बेला कमिसनको खेलमा देशको ढुकुटी डुबाउन खोज्ने मन्त्री होऊन् कि तपाईंका सल्लाहकार वा अरु कोही– तिनलाई कार्बाही गरेर देखाउनुस्। हैन भने तपाईंको देशभक्तिप्रति पनि मान्छेहरुले औंला देखाउनेछन्।  

हिजै मात्र स्वास्थ्य मन्त्रालयकै अधिकारीले हतारमा ल्याउँदा सामान ‘केही महंगो पर्न गएको’ स्वीकार गरे। आज फेरि विज्ञप्ती निकालेर त्यो ‘किट’ तत्काल प्रयोग नगर्नू भनिसके। भनेपछि किट साँच्चै नक्कली रहेछ र सामान किन्दा केही न केही गडबडी भएकै रहेछ भन्ने बुझ्नुपर्यो हामीले? 

त्यतिमात्रै होइन, आजै फेरि अर्को घटना भयो प्रधानमन्त्रीज्यू– स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गर्ने निर्णय सुनाउनुभयो। हप्ता दिन नबित्दै टेण्डर रद्ध गरेर ओम्नी समूहसँग सम्झौता भो। सामान पहिलो खेप मात्रै ओसार्न के पाएको थियो– आज सम्झौता रद्ध मात्रै होइन, पाँच करोड धरौटी जफत गरी कालो सूचीमा राख्न सिफारिस पनि भो। आज कालोसूचीमा राख्नुपर्ने कम्पनीलाई अस्ति चाहिँ हतार हतारमा टेन्डर किन दिनुभयो? यो कस्तो अनौठो भइरहेको छ प्रधानमन्त्रीज्यू?

आजै मिडियाहरुले लेखिसके– तपाईंकै ठाडो आदेशमा ओम्नी समूहसँगको सम्झौता रद्ध गरिएको रे! के यो कुरा साँचो हो प्रधानमन्त्रीज्यू? यदि साँचो हो भने किन यस्तो आदेश दिनुभयो? के ओम्नी समूहले गलत काम गरेकै हो? गलत नै भएको हो भने संकटको बेला देशको ढुकुटीप्रति कुदृष्टि लगाउनेसँग ठेक्का रद्ध गरेरमात्रै हुन्छ र प्रधानमन्त्री ज्यू?

यस्तो गम्भीर अपराध गर्ने ती सरकारी, गैरसरकारी जोसुकै मान्छेहरु होऊन्, तिनलाई भ्रष्टाचार र देशप्रति गद्धारी गरेको अभियोगमा कार्बाही गर्न सक्नुहुन्छ? मान्छेहरु शंका गर्न थालिसके– ठेक्का रद्ध गरेको नाटक देखाएर अहिले भएको चलखेल र कमिसनको ढाकछोप गर्नलाई हो। 

देशका नागरिक कोरोनाभाइरसबाट कसरी बाँचौं र दुई चार वर्ष भए पनि आयू लम्ब्याऔं भनेर हारगुहार गर्दैछन्। उच्च वर्गलाई के चिन्ता छ र ? मध्यम वर्ग पनि दुई चार महिना लकडाउन र यस्ता दुःख कष्ट झेल्न सक्छन्। तर, साँझ बिहानको छाक टार्न मजदूरी गर्ने श्रमजीवी– मजदूर, किसान र गरिब देशबासीको के हालत भएको छ अहिले? तपाईंले महसुस गर्नुपर्दैन– देखे मात्रै पनि तपाईंले केही गर्नुहुन्थ्यो कि? यहाँ त मजदूर, किसान र गरिब जनता देख्ने तपाईंका आँखा नै यी कमिसनखोरी, भ्रष्टाचारी र ठूलाबडा भनाउँदाहरुले छेकिदिने हुन् कि भन्ने बढी चिन्ता भयो। 

प्रधानमन्त्रीज्यू, पहिले पनि यती समूहका बारेमा धेरै ठूल्ठूला कुरा आए– तपाईंले 'भन्नेहरुले भनिरहन्छन्' स्टाइलमा सुनिरहनुभयो– पुराना कुराहरु त्यति नकोट्याऔं।

अहिले त कोरोनाभाइरसले देशै मसानघाट हुने हो कि भन्ने चिन्ता छ। यस्तो बेला घरभित्र पोको पारेर राखेको सम्पत्ति खोलेर मानवसेवामा समर्पित गर्नुपर्ने बेला ‘यहीँ हो मौका’ भन्दै कुद्नेहरु तपाईंकै वरिपरि छन् भने तपाईं कसरी समृद्ध नेपाल र सुखी नेपाली बनाउनुहोला? तपाईंलाई ‘त्यस्ता सहयोगी’हरुले कसरी उँभो लाग्न देलान् प्रधानमन्त्रीज्यू?

अन्त्यमा, प्रधानमन्त्रीज्यू, कि ‘कमिसनको चलखेल भो, भ्रष्टाचार भो’ भनेर दुनियाँको ‘दिमाग खराब’ गरिदिनेहरुलाई ठेगान लगाउनुस् र हामीलाई ‘केही थाहा नपाएर चुपचाप बाँच्न’ दिनुहोस् कि त तपाईंका मन्त्री, सल्लाहकार र तिनका आफन्त होऊन् वा कार्यकर्ता वा अरु कोही व्यापारी, कर्मचारी नै– भ्रष्टाचार र कमिसनको चलखेलमा लाग्नेहरु सबैको घाँटी निमोठेर देखाइदिनुहोस् र हामीलाई तपाईंको भ्रष्टाचारविरोधी प्रधानमन्त्रीको प्रशंसनीय कार्य र छवि देखेर बाँच्न दिनुहोस्। 

आशा छ, तपाईंले दोस्रो विकल्प रोज्नुहुनेछ।

उही तपाईंले नेतृत्वको गरेको देशको एक नागरिक


प्रतिक्रिया दिनुहोस्