काठमाडौ । नेपालमा आज (बुधबार)सम्म १ हजार १३३ जनाको कोरोनाभाइरसको संक्रमण परीक्षण गरिएको छ भने संक्रमणको आशंकाको आधारमा देशभर ९९ जना बिरार्मी आइसोलेसनमा उपचार गराइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) सम्बन्धी अपडेटका लागि दैनिक गर्ने लाइभ कार्यक्रमअन्तर्गत बुधबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार आज नयाँ ७३ बिरामीको नमुना परीक्षणको नतिजा आएको छ। त्यसमा सबैको नेगेटिभ रिपोर्ट आएको देवकोटाले बताउनुभयो।
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमित ५ मात्रै छन्। तीमध्ये एक जना निको भइसकेका छन् भने ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोरोना शंकामा नमुना जाँच गरिएकामध्ये १ हजार १२८ जनाको नतिजा नेगेटिभ आएको उहाँले बताउनुभयो।
फेसबुक लाइभमा प्रवक्ता देवकोटाले देशभरिमा कोरोना भाइरसका लक्षण देखिएका ९९ बिरामी विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो।
काठमाडौं बाहिर पनि परीक्षण गरिने
अहिलेसम्म काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोनाभाइरस संक्रमणको परीक्षण भइरहेकोमा अब बुधबारदेखि पोखरामा पनि परीक्षण शुरु गरिएको छ।
प्रवक्ता देवकोटाका अनुसार पोखरामा अहिले ४ जनाको नमुना परीक्षणका क्रममा रहेको छ भने धरानमा केही दिनअघिबाटै परीक्षण शुरु गरिसकिएको छ। धरानमा १२ वटा नमूना परीक्षण भइरहेको उहाँले बताउनुभयो।
हेटौंडामा पनि प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्था भइसकेकाले बुधबारदेखि नै कोरोना परीक्षण थालिने प्रवक्ता देवकोटाको भनाई छ।
त्यसैगरी सुर्खेत, धनगढी, बुटवल, जनकपुरमा पनि बिहीबारसम्ममा कोरोना परीक्षण सुरु गरिने देवकोटाले बताउनुभयो।