गणेश आचार्य
अहिले विश्व कोरोना भाइरस (कोभिड १९) को कारणले ठूलो संकटमा रहेको छ । चीनबाट पहिलो संक्रमित पुष्टि भएको यो रोग अहिले विश्वभरि फैलिएको छ । यसैका कारणले मान्छेको दैनिक जीवन कष्टप्रद भएको छ । दैनिक जीवनका अत्यावश्यक वस्तुहरु समेत नपाएर साँझ बिहानको गर्जो टार्न समेत मान्छेलाई कठिनाई भएको छ ।
यसैको पेरीफेरीमा रहेर यहाँ सामान्य चर्चा गर्न खोजिएको छ ।
चीको वुहान राज्यबाट सुरु भएको कोरोना रोग अहिले विश्वका करिब करिब सबै देशमा पुगेको छ । यसरी छोटो समयमा यो रोग विश्वव्यापीकरण हुनुको मुख्य कारण भनेको अहिलेको गोलोब्लाइजेसन नै हो । विश्वको एक कुनाका नागरिक अर्को कुनामा पुगेर काम गरिरहेका छन् । चीनको वुहान विश्वकै उद्योगको केन्द्र हो । त्यहाँका धेरै मानिसहरु विश्वका विभिन्न कुना कुनामा पुगेका छन् र आफ्ना उद्योगले उत्पादन गरेका वस्तुहरु पनि पुराउने गरेका छन् । त्यसैले जुन जुन ठाउँमा वुहान र चीनका मान्छेको आवतजावत धेरै भयो, त्यहीत्यही ठाउँमा शुरुमा रोग पुगेको हो । तर अहिले सबैले सबैलाई सार्ने काम गरेका छन् ।
एक विश्लेषणअनुसार चीनको एक व्यापारी जर्मन गएर त्यहाँको व्यापारीसँग बसेर व्यापारको विषयमा बैठक गरे । त्यो बैठक सकेर उनी चीनमा फर्किए । उता चीनको व्यापारीसँग बसेका जर्मन व्यापारीले जर्मनकै अरु व्यापारीसित पनि बैठक गरे । यता चीनको व्यापारी चीनमा आएपछि ज्वरो आउने र रुघाखोकी लाग्न शुरु भयो । अनि उनलाई परीक्षण गर्दा कोरोना देखियो । त्यसपछि उनले फोन गरेर जर्मनको व्यापारीलाई ‘मलाई त यस्तो भयो ।तपाईलाई के छ ? चेक गर्नु त’ भन्यो । उसले चेक गर्दा उनलाई पनि कोरोना देखियो । त्यो देखिएपछि मात्र उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भयो । यस्तै त्यो जर्मनी व्यापारीसित बसेका अरु जर्मनकै व्यापारीहरुलाई पनि चेक गरियो र उनीहरुलाई पनि कोरोना देखियो । यसको सर्ने क्रम यसरी बढेको छ । यो कुराले के कुरा पुष्टि गर्दछ भने यसको सर्ने क्रम तीव्रगतिमा छ । कोसँग यसको भाइरस छ, कोसँग छैन ? यसको कुनै जानकारी छैन । यसको भाइरस जसले पनि बोकेको हुनसक्छ । त्यसैले सबै सबैसँग जोगिनु नै यसबाट बच्ने सबैभन्दा सजिलो उपाय हो भन्ने कुरा पुष्टि हुन्छ ।
यो रोगले महामारीको रुप लिएपछि यसले पैदा गर्ने संकट, आउने परिणाम र यसका विरुद्धको लडाइँका विषयमा विभिन्न चर्चाहरु हुन थालेका छन् । विभिन्न अनुसन्धानकर्ताहरुले विभिन्न अड्कलबाजीहरु गरेका छन् । भोलिको विश्व कस्तो हुनेछ ? सामाजिक बुझाई कस्तो हुनेछ ? शक्तिको केन्द्र कता बन्ने छ ? विश्व मानवजातिमा राम्रो प्रभाव कसले छोडने छ ? र त्यहाँ कुन प्रकारको व्यवस्था थियोे ? भन्ने प्रश्नहरु उब्जने र त्यसले विश्वको राजनीतिक दिशालाई समेत प्रभावित गर्ने कुरा आँकलन गर्न सकिन्छ । चीनबाट यो रोगको उत्पत्ति भयो अर्थात पहिलो पहिचान चीनमा गरियो । पहिलो पहिचान गर्ने डाक्टरको समेत निधन भएको छ । तर चीनले रोगका विरुद्धमा लड्ने कुशलतापूर्वक योजना बनायो र अहिले करिब करिब विजय हासिल गरेको छ । त्यतिमात्र होइन उसले विश्वभरि यो रोगका विरुद्धमा लड्दा चाहिने सुरक्षाकवचदेखि औषधिसम्म पुराउने र आफ्नो जनशक्ति समेत पठाउने काम गरेको छ । उसले यसका विरुद्धमा लड्नको लागि पूरै लकडाउन गरेर लागिरहँदा सहयोग र सहानुभूति दिनुको साटो उल्टै खिसिटिउरी गर्ने काम अमेरिका र युरोपका देशहरुले गरे ।
अहिले तिनै देशहरुमा दैनिक हजारौं मान्छेको मृत्यु भइरहेको छ । जीवन अस्तव्यस्त भएको छ । पैसाको कुनै काम भएको छैन । नागरिकले पैसा सडकमा छरेका छन् । विश्वका शक्तिसम्पन्न र आर्थिक र स्वास्थ्य उपचारको राम्रो व्यवस्था भएका मुलुकहरु नै अहिले यो रोगको केन्द्रमा रहेका छन् । विश्वमा यो महामारी फैलिएको छ भने आर्थिकरुपमा कमजोर र स्वास्थ्य उपचारको लागि कमजोर र चेतनाको हिसाबले पनि पछि परेका मुलुकमा यसले आफ्नो केन्द्र बनायो भने अहिलेको भन्दा पनि भयावह स्थिति बन्ने कुरा आँकलन गर्न केही गाह्रो पर्दैन ।
नेपालमा यो लेख तयार गर्दासम्म ५ जनामा संक्रमणको पुष्टि भएको छ । हजारौं लाखौं मान्छेको जीवन अस्तव्यस्त भएको छ । सरकारले कुशल व्यवस्थापन गर्न सकेको छैन । यो बेला आमनागरिकले सजगता र सतर्कता अपनाउँदै अप्ठ्यारो परेकालाई सहयोग गर्ने र सरकारलाई साथ दिने हो तर मुख्य योजना बनाउने र व्यवस्थापन गर्ने दायित्व सरकारको हो । अहिले जसरी सुरक्षाकवज र औषधि खरिदमा समेत अनियमितता गरेको र भारतबाट आफ्नो देशमा आउनको लागि सिमाक्षेत्रमा आएका नागरिकलाई समेत व्यवस्थापन गर्न नसकेको अवस्था बनेको छ । यो ज्यादै खेदजनक काम सरकारले गरेको छ । कम्तिमा पनि ती नगरिकलाई आफ्नो देशमा ल्याएर क्वारेन्टाइनमा राख्न सकिने थियोे । आफ्नो देशको पैसा लगेर चीनमा बुझाउनेहरुलाई प्लेनको व्यवस्था गरेर ल्याउने र क्वारेन्टाइनमा पनि सरकारले नै राख्ने तर अर्काको देशमा काम गरेर रेमिट्यान्सबाट देश चलाउने नागरिकलाई अपमान गर्ने ? यही कुराले पनि अहिलेको सरकार कसको हो भन्ने कुरा पुष्टि गरेको छ ।
यो विपदको बेलामा चीन, उत्तर कोरिया, क्युबा र भियतनाम लगायतका देशले आफूलाई फरक रुपमा देखाएका छन् । तर आफूलाई विश्वकै शक्तिसम्पन्न बताउनेहरु अस्तव्यस्त देखिएका छन् । यसले पनि भोलिको राजनीतिलाई दिशानिर्देश गर्ने देखिन्छ । मान्छे मान्छेबीचको लडाइँ भनेको क्षणिक मात्र हो । जतिबेलासम्म प्रकृतिमा प्रतिकूलता आउँदैन, त्यो बेलासम्म ठूलोले सानो र सम्पन्नले विपन्नमाथि रजाइँ गर्ने हो । सबै मानवमाथि समस्या आयो भने सबै एक हुनुको विकल्प नै हुँदैन । त्यसैले अहिलेका सबै अहंकारहरुलाई त्यागेर समुन्नत मानव समाज बनाउनको लागि मानिसको अन्तर्राष्ट्रिय जाति बनाउँदै समाजवाद र साम्यवादी व्यवस्था स्थापना गर्न जरुरी छ । अहिलेको समस्या सबै मानव जातिबाट हटेन भने शक्तिको केन्द्रमा भएकाहरु पनि बच्दा रहेनछन् भन्ने कुरा त प्रमाणित भयो । त्यो चेत उनीहरुमा आउन जरुरी छ ।