अस्पताल चहार्दा चहार्दै बिरामीको गयो ज्यान, ज्वरो देखेर भर्ना गरेनन् अस्पतालले

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ४१


विराटनगर । अस्पतालले भर्ना गर्न नमान्दा विराटनगरमा उच्च रक्तचापकी एक बिरामीको मृत्यु भएको छ। 

आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन्।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ घण्टामै अस्पतालले मृत घोषणा गरेको थियो।

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्समा धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याए।

विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गरिदियो।

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरे। विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो।

विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो। ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए।

समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको लक्ष्मीको गुनासो छ ।

उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्