काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका तीन जना नेपाली सप्तरीमा भेटिएका छन्।
मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन्। उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ।
दिल्लीको निजामुद्दिनमा आयोजना गरिएको जमातका सहभागीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र कतिपयको मृत्युसमेत भएको छ। यो जमातमा नेपाली पनि सहभागी भएको पाइएपछि प्रहरी उनीहरुको खोजीलाई तीब्र बनाएको थियो।
उक्त धार्मिक सभामा सहभागी रौहतट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेका छन्।
बुधबार राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनै जनालाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको छ।
सप्तरी प्रहरीले दिल्ली जमातमा सहभागी भएर आएका जिल्लाका आठ जनामध्ये तीन जना फेला पारिएको र अन्य पाँच जनाको खोजी भइरहेको जनाएको छ।
यद्यपी सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिएको छ। सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए।
कहिले भएको थियो धार्मिक सभा ?
नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा १ देखि १५ मार्चसम्म उक्त धार्मिक सभा चलेको थियो । करिब आठ हजार सहभागी भएको त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी भएका थिए। नेपालबाट पनि १९ जना सहभागी भएको बताइएको थियो।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिकसभा भएको थियो। तर, सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागीमध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।
यस्तै तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ।
अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ। उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ।
भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उल्लेख गर्दै जनाएअनुसार सभामा दुई सय ८१ जना विदेशी थिए। जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुक छन्।