शम्भु मोक्तान
सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए। बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन। कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुसार फरक पर्ने रहेछ। बाहिर सुनिने गरेको जस्तो लक्षण नदेखिएकाले मैले टाइलोनोल, पेनकिलर जस्ता औषधी खाएर आठ नौ दिन बिताएँ। तर मलाई निको भएन। बरु स्वासप्रश्वासमा समस्या आयो।
स्वासप्रश्वासमा समस्या आएपछि म अस्पताल गएको हुँ। त्यसैले अहिले रुघाखोकी लाग्दैमा र जिउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला। तर स्वासप्रश्वासमा समस्या आउन थाल्यो भने चाहिँ ढिलो गर्न नहुने रहेछ। स्वासप्रश्वासमा समस्या आएमा जतिसक्दो छिटो अस्पताल जानुहोला।
हामीले सुरुमा नै राम्रो अस्पताल छान्ने निर्णय गरेका थियौं। हामीले न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पताल छान्यौं। यो अस्पताल घरबाट नजिक पनि पर्ने भएकोले हामीले त्यहाँ जाने निर्णय गरेका थियौं। त्यसैले म उक्त अस्पतालको इमर्जेन्सीमा गएँ।
अस्पतालमा जाँदा सुरुमा नै अस्पतालले परिवारका अन्य सदस्यहरु बिरामी भए नभएकोबारे पनि सोधेको थियो। परिवारमा कोही पनि बिरामी नभएकाले टेस्ट गर्नुपर्ने कुरा उठाइएन।
उक्त अस्पतालमा कुनै कमजोरी देखिएन। भनेको समयमा डाक्टर र नर्सहरु आउने गरेको देखियो। भनेको समयमा खानपिन, तातो पानी उपलब्ध गराउनेदेखि बिरामीको हेरचाह गर्नेमा कुनै समस्या देखिएन। म इमर्जेन्सीमा गएपछि मलाई अलग्गै राखेर उपचार सुरु गरिएको थियो।
सुरुमा मलाई नाकमा स्वाब हालेर चेक गरियो। डाक्टरहरुले दुई दिनमा रिपोर्ट आउने बताए। सुरुमा डाक्टरहरुले परीक्षणका लागि स्वाबको नमुना लिएपछि घर जान सक्ने बताएका थिए। उनीहरुले परीक्षणको नतिजा फोन, इमेल वा टेक्स्टबाट बताउने उल्लेख गरेका थिए। तर एकैछिनमा अरु परीक्षण पनि गरेपछि मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने बताइयो।
बेलुका मलाई स्वासप्रश्वासमा अझै मुस्किल भयो। त्यसपछि मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो। शरिर दुखेको बेला पेनिकिलर दिइयो भने भिटामिन सी लगायतका भिटामिन पनि दिइयो। यस्तैमा दुई दिन बित्यो।
दुई दिनपछि डाक्टरले भेटेर भन्यो– ‘सरी मिस्टर शम्भु, तिमीमा कोरोना भाइरस पोजेटिभ भेटियो।’
त्यसपछि डाक्टरले उपचारको प्रकृया सुरु गर्ने बताए। मलाई आईभीमार्फत सी र बी लगायतका भिटामिनहरु शरिरमा दिइयो। कोरोना पोजेटिभ देखिएपछि पनि जिउ दुखेमा पेनकिलर लगायतका औषधी नै दिइएको थियो भने खोकी चलेमा कफको औषधी दिइएको थियो। उनीहरुले हरेक दिनजसो नै विहान रगत लगेर चेक गरिरहेका थिए।
उक्त अस्पतालमा पीपीईको समस्या खासै देखिएन। प्रत्येक पटक भेट्न आउँदा डाक्टर नर्सहरु पीपीई लगाएर नै आउँथे। सेवा दिइसकेपछि सबै खोलेर ढोकाको छेउमा फ्याँकेर बाहिर निस्कने गर्थे। पीपीईको बारेमा उक्त अस्पतालमा कुनै समस्या भएजस्तो लागेन।
अस्पतालमै रहेको बेलामा मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गरें। कोरोना संक्रमण भएर अस्पतालमा बसेको मान्छेलाई शतप्रतिशत बाँच्ने आशा नहुने रहेछ। मलाई पनि तीस चालिस प्रतिशत त मर्छु जस्तो नै लागेको थियो। त्यसैले मैले यो गोप्य कुरा राखें नेपाली समाज, देश कसैलाई थाहा हुने छैन, गोप्य नराखेमा सबैबाट सहयोग हुनेछ भन्ने आशाका साथ मैले आफ्नो बारेमा सार्वजनिक गरेको हुँ।
यस्तै क्रम चलिरहेको थियो। अस्पतालमा भर्ना भएको पाँचौं दिनमा डाक्टरले भेटेर भने– ‘तिमी खतरा मुक्त भयौं। सबै रिपोर्ट हेर्दा तिमी यहाँ बस्नुभन्दा घरमा आराम गरेको राम्रो हुनेछ। त्यसैले तिमी डिस्चार्ज हुनुपर्छ।’
त्यसपछि गत आइतबार अर्थात् छैठौं दिन आएर डाक्टरले घरमा गएर आराम गर्न भने। मैले डिस्चार्ज भएर घर गइसकेपछि मेरा परिवारका सदस्यहरुलाई मबाट खतरा हुन्छ कि भनेर जिज्ञासा राखें। यो सबै विषयमा नर्सले जानकारी दिने भन्दै मलाई बधाई दिएर डाक्टरहरु फर्के।
त्यसबारेमा पछि मलाई नर्सले बताए। नर्सले हरेक पेज पढेर सुनाइन्। मलाई १४ दिनसम्म घरमा बस्न सुझाव दिइयो। घरमा बस्दा मास्क लगाएर बस्न र खोक्दा मुख छोपेर खोक्न सुझाव दिइयो। त्यस्तै अलग्गै बाथरुम, कपडाहरु प्रयोग गर्न सुझाव दिइयो। १४ दिनभित्र परिवारका सदस्यमा कसैलाई केही भएन भने पूरै परिवार सुरक्षित भयो भनेर ठान्न समेत नर्सले सुझाव दिइन्।
नर्सले ‘तिमी आफै जान सक्छौ कि छाड्नुपर्छ’ भनेर सोधिन्। ‘मैले म आफै जानसक्छु’ भनें। म आफै हिडेर अस्पतालबाहिर आएँ। बाहिर पिकअपका लागि जेठो छोरा पर्खिरहेको थियो। त्यसपछि घरमा आएँ। अहिले घरमा उपचार गर्दै बसिरहेको छु। हरेक दिन सुधार भएको महसुस गरेको छु।
सबै नेपाली दाजुभाई दिदीबहिनीहरु अहिले घरभित्रै बसिरहनुभएको छ। तपाईहरु साधारण बिरामी भएमा नआत्तिनुहोला। अस्पतालहरु ओभरफ्लो भएकाले अहिले साधारण अवस्थामा अस्पताल नजानुहोला। किनभने त्यहाँको अवस्था हेर्दा निरुत्साहित भइन्छ। त्यसैले सकभर घरमै बस्नुहोला। र उपचार गर्नुहोला। तर स्वासप्रश्वासमा समस्या आएमा कोरोना नै हो भन्न सकिन्छ। जतिसक्दो छिटो अस्पताल जानुहोला।
(वासिंटन डिसीमा रहेको नेपाली दूतावासले आयोजना गरेको कन्फ्रेन्स कल बैठकमा मोक्तानले आफ्नो अनुभव सुनाउनुभएको हो।)
यो सामग्री खसोखास डटकमबाट लिइएको हो।