बाजुरामा एकै पटक ३०० परिवार ज्वरो र रुघाखोकीले थलिए

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ४६


बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताउनुभयो । 

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित  हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताउनुभयो । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ । लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।  बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्