के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?
यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ।
यस विषयमा बीबीसीका यौन विटमा पत्रकारिता गरिसकेका पत्रकार एलिक्स फक्स र डा. एलेक्स जर्जका भनाइका आधारमा बीबीसीले यो सामग्री तयार पारेको छ।
के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ?
डा. एलेक्स जर्ज भन्छन्, ‘तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एक अर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।’
एलिक्स फक्स भन्छिन्, ‘आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।’
नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ?
यस विषयमा डा. एलेक्स जर्जको भनाई यस्तो छ, ‘म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।’
एलिक्स फक्सको भनाई पनि ठीक त्यस्तै छ। उनी भन्छिन्, ‘के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।’
पहिले कन्डम प्रयोग नगरेको जोडीले अब के गर्ने भन्ने प्रश्नमा एलिक्स फक्स भन्छिन्, ‘यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय– जस्तो वीर्य स्खलन गर्ने वा एक अर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला।’
के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ?
डा. एलेक्स जर्ज भन्छन्, ‘यदि तपाईँ एक अर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।’
मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।
बीबीसीबाट