काठमाडौं । गृह मन्त्रालयले हिंजाे (सोमबार) नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेकाे छ । राजपत्रमा प्रकाशित सूचना अनुसार २०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने छ ।
वर्षभरीमा ५२ वटा शनिबार, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुने सूचनामा जनाइएकाे छ ।
त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुनेछ तर संविधान दिवस, दशैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिन हुने देखिएकाे छ ।
त्यसैगरी २०७७ सालमा पनि भदौ ५ गते शुक्रबार र जितिया पर्वमा पनि महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ । जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ ।
कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।